
सिनेमा संसार
काठमाडौं
लोकप्रिय अभिनेता तथा निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको सिनेमा पहाड आगामी वर्ष २०८३ साल वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनदेखि प्रदर्शनमा आउने भएको छ।
युवा जनशक्ति विदेश पलायन हुँदा सुनसान बन्दै गएका पहाडी बस्ती र त्यसले निम्त्याएका सामाजिक–आर्थिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको यो सिनेमा समाजको तीतो यथार्थ दर्शकसमक्ष प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको निर्देशक घिमिरेले बताए। वितरकहरूसँग छलफल, अन्तर्राष्ट्रिय प्रदर्शन समय मिलान र बाँकी प्राविधिक कामको तालिका हेरेर प्रदर्शन मिति तय गरिएको उनको भनाइ छ। पारिवारिक कथावस्तु भएकाले नयाँ वर्षको अवसर पारेर सपरिवार हलमा हेर्न मिल्ने समय रोजिएको पनि उनले स्पष्ट पारे।
यसअघि बलिदानपछि मदनकृष्ण श्रेष्ठ र चिनो पछि सुनील थापा सँग सहकार्य गरिसकेका निर्देशक घिमिरे नयाँ र पुराना पुस्ताको संयोजनले उत्कृष्ट परिणाम दिनेमा विश्वस्त छन्। उनले पुराना कलाकारसरह नयाँ पुस्तामा पनि पात्रप्रतिको समर्पण देखिएको बताए। सिनेमा मानव बसोबासविहीन बन्दै गएको उच्च पहाडको कथामा आधारित रहेको र यसले देशको आवश्यकता तथा नागरिक दायित्वको प्रश्न उठाउने उनको भनाइ छ।
भाग्यरत्न फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई यही सिनेमाबाट अभिनेत्रीका रूपमा डेब्यु गराउँदैछन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइन सम्हालेकी छन्। छायाङ्कन प्रमोद प्रधानले गरेका हुन्, जसले यसअघि घिमिरेसँग अन्याय, कोसेली र दक्षिणा मा सहकार्य गरिसकेका छन्।
सिनेमाका निर्माता भाग्यरत्न फिल्म्स प्रालिअन्तर्गत ओजस्वी केसी हुन् भने सङ्गीत निर्देशन रञ्जित गजमेर र क्रिएटिभ निर्देशन भारती घिमिरेले सम्हालेका छन्। सहनिर्मातामा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग रहेका छन्।




