NEWS

१० सिनेमाकर्मी र पत्रकार सम्मानित

सिनेमा संसार
काठमाडौं
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित सिनेमामा नारी महिला सिनेमा महोत्सव राजधानीमा सम्पन्न भएको छ।
बोर्डमा आयोजित समापन समारोहमा नेपाली सिनेमा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १० महिला सिनेमाकर्मीलाई सिनेमामा नारी सम्मान प्रदान गरिएको थियो।
समारोहमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतद्वारा नगद २५ हजार रुपैयाँसहित महिला सिनेकर्मी तथा पत्रकारलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङलाई सम्मान गरिएको थियो।
समापन समारोहमा महिला कलाकारद्वारा नेपाली नौमति बाजासहित कार्यक्रमलाई अझ उल्लासमय बनाइएको थियो। यस अवसरमा देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाललगायतले प्रस्तुति दिँदै समारोहलाई सांगीतिक उचाइ दिएका थिए।
कार्यक्रममा सिनेमा कुमारीका कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

Related Articles

Back to top button