CINEMAMUSIC

यौटा सपनाको अवसानको लिरिकल भिडियो सार्वजनिक

सिनेमा संसार संवादतादा

काठमाडौं

नयाँ वर्षबाट कान्तिपुर सिनेमाजबाट प्रसारण भएको वेबप्ले सिरिज ‘यौटा सपनाको अवसान’को लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘आऊ हजुर आऊ’ बोलको सार्वजनिक गीतमा न्ह्यू बज्राचार्यको संगीत, विप्लल प्रतीकको शब्द र शारदा अधिकारीको स्वर रहेको छ । लिरिकल भिडियोमा मञ्चनको समयका विशेष मुद्रालाई समावेश गरिएको छ । ‘यौटा सपनाको अवसान’ नाटकलाई सिरिजको रुपमा रुपान्तरण गरिएको सिर्जना हो ।
गायिका शारदा अधिकारीले गीतले आफ्ना धेरैवटा सपना एकसाथ पूरा गरेको बताएकी छिन् । डोरेमी संगीत पाठशालाबाट गायनको प्रशिक्षण लिएकी शारदा ११ वर्षदेखि थिएटरमा सक्रिय छिन् । उनले यो गीतले आफ्नो ११ वर्षदेखिको सपना पूरा गरेको बताइन् ।
‘न्ह्यू बज्राचार्य संगीत र अनुप बराल मेरो नाटकको गुरु हुनुहुन्छ । यो गीतले दुवै गुरुसँग काम गर्ने अवसर जुराएको थियो । त्यसैले यो गीत मेरा लागि एकदमै विशेष छ ,’ उनले भनिन्, ‘ गीत रेकर्डिङको समयमा सक्दिन कि भनेर थोरै नर्भस पनि भएकी थिएँ । तर न्ह्यू सरको ढाडसले अप्ठेरो नै चाहिँ भएन ।’ शारदाले नाटकमा अभिनय पनि गरेकी छिन् ।
नाटक गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको थियो । निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले नाटकघरको मञ्चन छुटाएका दर्शकलाई लक्षित गर्दै नाटकलाई नयाँ स्वरुपमा पस्किएको जानकारी गराएको हो । निर्माता गोविन्द पराजुलीले नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरुप ‘यौटा सपनाको अवसान’लाई ओटिटीमा रिलिज गरिएको बताएका छन् । सिरिजले ओटिटीमा उत्साहजनक दर्शक पाइरहेको उनको दाबी छ ।
वरिष्ठ नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ । नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा उपलब्ध छ ।
नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button