NEWSSTAGE

झुम्कामा सम्पन्न भयो चौथो राष्ट्रिय थारु फिल्म तथा सांस्कृतिक महोत्सव

सिनेमा संसार
काठमाडौं

सुनसरीको रामधुनी नगरपालिका–झुम्कामा आयोजित चौथो राष्ट्रिय थारु फिल्म तथा सांस्कृतिक महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको उक्त महोत्सवले थारु समुदायको कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएको छ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। पहिलो दिन थारु भाषाको पहिलो टेलिफिल्म ‘जित्त भुत’ का लेखक तथा निर्देशक सागर ढुंगेल, संगीतकार फणीन्द्र सुवेदी, कलाकार दिनेश कोइराला, मोडल गणेश बहादुर राउत आर्यान, गायक रामा मण्डल, संगीतकर्मी लालबहादुर चौधरी, निर्माता लाखमान योञ्जन र भीम लामा, तथा गायक सत्यनारायण चौधरीजस्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा थारु फिल्महरू प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी, थारु नृत्य प्रतियोगिता, तथा झाकी प्रदर्शनीले कार्यक्रमलाई थप रंगीन बनाएको थियो। झाँकी प्रदर्शनमा जब्दी टोल विकास समिति, रामधुनी–१ ले उत्कृष्ट प्रदर्शन गर्दै नगद ५ हजार रुपैयाँ जित्यो। नृत्य प्रतियोगितामा ‘रियालिटी क्रु’ ले प्रथम स्थान हात पार्दै १० हजार रुपैयाँ प्राप्त गर्‍यो। द्वितीय स्थानमा ‘भर्सटायल डान्स ग्रुप’ (७ हजार नगद) र तृतीय स्थानमा ‘एसडी क्रिएसन’ (५ हजार नगद) रहे।

नयाँ पुस्ताका थारु कलाकारहरूले प्रस्तुत गरेका नृत्य र सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूको मन जितेको थियो। कार्यक्रम थारु फिल्म तथा सांस्कृतिक संघ केन्द्रीय समिति तथा मोरङ र सुनसरी समितिको सहकार्यमा आयोजना गरिएको हो।

Related Articles

Check Also
Close
Back to top button