
सिनेमा संसार
काठमाडौं
१७ सेप्टेम्बर २०२५ – अमेरिकाको लस एन्जल्सस्थित पिकक थिएटरमा आइतबार सम्पन्न ७७औं प्राइमटाइम एमी अवार्ड्समा वर्षका उत्कृष्ट टेलिभिजन श्रृंखला र कलाकारहरूलाई सम्मान गरिएको छ।
ओटीटी तथा टेलिभिजन दुनियाँको सबैभन्दा प्रतिष्ठित अवार्ड समारोहमा द स्टुडियोले सर्वाधिक १३ अवार्ड चुमेको छ। यसले उत्कृष्ट हास्य श्रृंखला, लेखन र निर्देशनसहित सेथ रोगनले हास्य अभिनेता, ब्रायन क्रान्सटनले अतिथि अभिनेता, डिजाइन, कास्टिङ, छायांकन, समकालीन पोसाक, सम्पादन, संगीत र ध्वनि मिश्रण गरी १३ अवार्ड जितेको हो। कुनै पनि हास्य श्रृंखलाले यति धेरै अवार्ड चुम्नु यो पहिलो पटक हो।
समारोहमा एडोलेसन्सबाट १५ वर्षीय ओवेन कूपरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेर कम उमेरमा एमी जित्ने इतिहास कायम गरे। उनले अवार्ड ग्रहण गर्दै भने, “जतिबेला मैले नाटकका कक्षाहरू शुरू गरें, त्यो बेला म अमेरिकासम्म आउँला भनेर सोचेकै थिइनँ, एमीसम्म आइपुग्न त झन् सोचेकै थिइनँ।” उनले कम्फर्ट जोनबाट बाहिर निस्किनुपर्ने कुरा पनि जोड दिए। एडोलेसन्सले लेखन, निर्देशन र छायांकनसहित स्टेफेन ग्राहमले अभिनेता, स्विड्नी स्विनीले अभिनेत्री र क्रिस्टिन मिलियोटीले सह–अभिनेत्रीको अवार्ड जिते।
नाटक श्रेणीमा द पिटले उत्कृष्ट नाटक श्रृंखलासहित नोआ वाइलले उत्कृष्ट नाटक अभिनेता, क्याथेरिन ला नासाले अभिनेत्री, शँएन हाटोसीले अतिथि कलाकार र ड्रामा कास्टिङको अवार्ड जित्यो। ब्रिट लोअरले सेभरेन्सबाट उत्कृष्ट नाटक अभिनेत्रीको अवार्ड हात पारिन्। हास्य श्रेणीमा ह्याक्सबाट जिन स्मार्ट उत्कृष्ट हास्य अभिनेत्री बनेकी छिन्। क्रिस्टिन मिलियोटीले द पेंगुइनबाट सीमित वा एन्थोलोजी श्रृंखला–सिनेमामा अभिनेत्रीको अवार्ड जितिन्।हास्य कलाकार नेट बार्गात्जेले सञ्चालन गरेको समारोहमा सेभरेन्सबाट ट्रामेल टिलम्यान र ब्रिट लोअरले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड हात पारे।