NEWS

मिथिलाको गुरु दक्षिणाद्वारा कलाकर्मी सम्मानित

सिनेमा संसार

काठमाडौं

ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफनाे नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरुप उनीहरूको नाममा पुरस्कार स्थापना गरी विभिन्न श्रेणीमा कलाकारलाई सम्मान प्रदान गरिन्।

गुरु पूर्णिमाको अवसर पारेर राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभा हलमा सम्पन्न नेपाल पूर्व प्रहरी कलाकार संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा शर्माले गत वर्षदेखि स्थापना गरिएका सम्मानहरू प्रदान गरिन्।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई राजपाल थापा नृत्य साधना सम्मान २०८२, साहित्यकार रमण घिमिरेलाई चेतन कार्की गीती वाङ्मय सम्मान २०८२, वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८२, र वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई हाडा एन्ड पाल हास्य वाङ्मय सम्मान २०८२ बाट सम्मानित गरियो। विदेशमा रहेका संगीतकार गुरुङको तर्फबाट उनका छोरा रजय गुरुङले सम्मान ग्रहण गरे।

कलाकर्मीहरूलाई प्रमुख अतिथि प्रहरी महानिरीक्षक दीपक थापा, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अभिनेत्रीहरू हरिहर शर्मा, भुवन चन्द, चैत्यदेवी, मिथिला शर्मा र गौरी मल्ललगायतले सम्मान गरे।

संघकी सल्लाहकारको रूपमा बोल्दै मिथिला शर्माले आफू जन्मिएको नेपाल पुलिस क्लबमा उभिएर आफ्ना गुरुहरूलाई सम्मान गर्न पाउँदा अत्यन्त भावुक भएको बताइन्। उनले भनिन्, “अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई गुरु दक्षिणास्वरुप यो सम्मान स्थापना गरेकी हुँ। विगतले अंश माग्दैन, तर आजको यो विशेष दिन गुरुहरूलाई सम्झेर कार्यक्रम गर्दा चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास सम्झिइरहेकी छु।”

प्रहरी महानिरीक्षक थापाले कार्यक्रममा स्रजनशीलता र रचनात्मकता रहेको उल्लेख गर्दै प्रहरी संगठनबाट सहयोग निरन्तर रहने बताए। उनले सेना, प्रहरी र सशस्त्र प्रहरीका कलाकारहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिनिधित्व गर्दै आएको चर्चा गरे।

सम्मानित कलाकारको तर्फबाट बोल्दै वसुन्धरा भुसालले आफ्नो जीवनसाथीसँगको भेट प्रहरी क्लबमै नृत्यका क्रममा भएको स्मरण गरिन्। उनले भनिन्, “श्रीमान्स‌ग मेरो प्रहरी क्लबमै भेट भएको थियो। त्यही ठाउँमा आज सम्मानित हुँदा अत्यन्त भावुक भएकी छु। मिथिला बहिनी त्यो बेला प्रिय बाल कलाकार थिइन्। आज उसैले कार्यक्रम आयोजना गरेर सम्मान गर्दा गर्व लागेको छ। मैले अभिनय गर्दा जोकर्नी भनेर हेपिन्थ्यो, तर आज यही क्षेत्रबाट उच्च सम्मान प्राप्त गर्दा अत्यन्तै गौरव महसुस भइरहेको छ। म्मानको रकम पनि उसले खुलाएको छैन, म यो खाम नखोली नै राख्नेछु।

कार्यक्रम प्रहरी कलाकारहरूको गुरु वन्दनाबाट सुरु भएको थियो। सम्मानित कलाकारहरूको बारेमा श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। संघका संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सचिव सरोजकुमार मैनालीले प्रतिवेदन प्रस्तुत गरे। अध्यक्ष रामबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गायिका बिमला राई, प्रहरी कलाकारहरू जलमाया गुरुङ, कल्पना गुरुङ, दानबहादुर गुरुङ, लालबहादुर गुरुङ, सबिना गुरुङ, हरि श्रेष्ठ, नूतन राई, तोर्जे तामाङ, तीर्थ कुमार श्रेष्ठ, दिलिप नेपालीलगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button