CINEMANEWS

हमालले केपी ओलीसँग संवाद गर्ने

सिनेमा संसार संवाददाता
काठमाडौं ।
अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग संवाद गर्ने भएका छन् । अभिनेता हमालले पूर्वप्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् ।
नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्न लागेका हुन् । सिनेमा संवाद शीर्षकमा हुने छलफल फेस्टिभलका उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार हुनेछ । दुईबीचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने आयोजकले जनाएका छन् ।
चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली सिनेमाको बजार, सिनेमा समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराएका छन् ।
महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्नेछन् भने नम्रता शर्माले सिनेमामा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नेछिन् । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन् ।

छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा सिनेमा निर्माणमा पर्न सक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिबार नै सिनेमा समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् । शुक्रबार भने सिने पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरु शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् । फेस्टिवलमा ४० देशका ८८ सिनेमा देखाइने छ ।

Related Articles

Check Also
Close
Back to top button