
सिनेमा संसार
काठमाडौं
रोशन दासको कथा तथा निर्देशनमा तयार भएको सिनेमा प्रतिवैरम्को आइटम गीत माहोल गरम चार भाषामा सार्वजनिक भएको छ। प्रचारलाई थप गति दिने उद्देश्यले गीत नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याइएको हो।
नेपाली संस्करण ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सनबाट रिलिज गरिएको छ। नेपाली संस्करणमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ। हृतिका श्रेष्ठको स्वर रहेको गीतमा प्रियंका कार्कीलाई बसन्तीको भूमिकामा प्रस्तुत गरिएको छ।
हिन्दी संस्करण जवानी कातिल शीर्षकमा सार्वजनिक गरिएको छ। यसमा शिवानी भगतको स्वर र लभ कर्णको शब्द रहेको छ। मैथिली संस्करण जवानी सेहो कातिल तथा भोजपुरी संस्करण गाउँवा बा घायल शीर्षकमा सार्वजनिक भएका छन्। यी दुई संस्करणमा सुमन मण्डलको शब्द तथा समीक्षा चौधरीको स्वर रहेको छ।
गीतमा प्रियंका कार्कीसँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक र प्रदीप ढकाललाई देख्न सकिन्छ। मनोरञ्जनात्मक आइटम प्रस्तुति रहेको गीतमा सिनेमाका केही महत्वपूर्ण एक्सन दृश्यसमेत समेटिएको छ। गीतको अन्त्यतिर अभिनेता सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। प्रतिवैरम् सम्राट दासको डेब्यु सिनेमा हो।
मधेशको सामाजिक परिवेश, एक्सन, सम्बन्ध, अपराध र बदलाको कथालाई केन्द्रमा राखिएको प्रतिवैरम् मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन हुने सिनेमालाई नेसनल सिनेमा ग्रुपले वितरण गर्दैछ।
सिनेमामा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ।
गीतको छायांकन नितेश घतान र हरि ढकालले गरेका हुन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ। सम्पादन कबिर ओड र पंकज महतोले गरेका छन्। भिएफएक्स समीर मियाँको रहेको छ। लाइन प्रोडक्सन पंकज महतोले सम्हालेका छन्।
मुख्य सहायक निर्देशक सन्तोष मल्ल र खेमराज कोइराला रहेका छन् भने सहायक निर्देशनमा सिर्जना भुजेल, अग्नि सुबेदी, धिरज राउत र कुशल पोखरेल छन्। कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह–निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी रहेका छन्। निर्माता हर्ष कुमार यादव र सत्यराज चौलागाईं हुन्।
रेज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको प्रतिवैरम् आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण भएको हो। सिनेमाको पटकथा, संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्।




