
सिनेमा संसार
काठमाडौं
लोकप्रिय हास्य कलाकार विलसन विक्रम राई, जो तक्मे बुढाको नामले परिचित छन्, अब मैझारो नामक सिनेमा निर्देशन गर्ने भएका छन्। उनले अभिनेताका रूपमा धीरज मगरलाई अनुबन्ध गर्दै आफ्नो होम प्रोडक्सन तक्मे प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माणको घोषणा गरेका छन्। सिनेमा को लेखन र निर्देशन उनी स्वयंले गर्नेछन्, र यो उनको डेब्यु निर्देशन हुनेछ।
सिनेमा मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन्। सिनेमा साउनको पहिलो साताबाट छायांकनमा जाने तयारी गरिएको छ। निर्देशक राईले सिनेमा को छायांकन इलाम र पाँचथरका रमणीय स्थानहरूमा हुने जानकारी गराएका छन्।उनका अनुसार सिनेमा सामाजिक कथावस्तुमा आधारित हुनेछ र पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ चित्रण गर्ने उद्देश्यले निर्माण गरिनेछ।