CINEMANEWS

रोजीको नाम फेरियो

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा रोजीको नाम परिवर्तन गरिएको छ। यसको नाम रोजीबाट रोज राखिएको छ। काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग रोजीको कथा परिवेस मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले सिनेमाको नाम परिवर्तन गरेको हो।
बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबिच भएको बार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित सिनेमाको कथा मिलेको मर्हजन परिवारले दाबी गरे। महर्जन परिवारले सिनेमा निर्माणको सुरुदेखि नै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाब दिँदै आएका थिए।
बिहिबार भएको दुई पक्षीय वार्तामा अब निर्माण पक्षले सिनेमाको नाम रोजी नराख्ने, सिनेमा सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ। यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो सिनेमालाई कुनै पनि प्रकारको बाधा नपुर्याउने सम्झौता भएको छ। यसरी निर्माता र महर्जन परिवारबीचको सम्झौतामा यो सिनेमाको नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर रोज राखिएको हो।
‘एउटा मृतकको सम्बेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं। कानूनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको सम्बेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ’ निर्देशक निरक पौडेलले भने। रोजी हत्या काण्डको बारेमा आफुलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले सिनेमाको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याण्डबारे आफुले अध्ययन गरेको पनि निर्देशक पौडेलले खुलासा गरे। रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफुहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रस्ट पारे।
गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो सिनेमामा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

Related Articles

Check Also
Close
Back to top button