
सिनेमा संसार
काठमाडौं
गत साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको सिनेमा हलीले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। ५१ दिन पूरा गरेको अवसरमा शनिबार धनकुटास्थित धनकुटा सिनेमा प्रालिमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
५१ दिनको खुसी दर्शकसँगै मनाउन निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारको टोली धनकुटा पुगेको थियो। कार्यक्रममा टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गर्दै सिनेमालाई दिएको साथका लागि धन्यवाद व्यक्त गरेको छ।
निर्माता पूजा गुरुङले दर्शकको माया र साथकै कारण हलीले हलमा ५१ औँ दिन मनाउन सफल भएको बताइन्। दर्शकलाई प्रत्यक्ष धन्यवाद दिन र खुसी साटासाट गर्न धनकुटा आएको उनको भनाइ छ।
एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ भन्ने सकारात्मक सन्देश बोकेको सिनेमाले छाउपडी प्रथाका क्रममा २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्नु हुँदैन भन्ने अन्धविश्वास तथा सामाजिक कुसंस्कारको कथा प्रस्तुत गरेको छ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको हलीमा व्यवसायी पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी रहेको छ। सिनेमामा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको मुख्य अभिनय रहेको छ।




