CINEMANEWS

१ लाख रुपियाँ पुरस्कारसहित मेरो परान प्रतियोगिता

सिनेमा संसार

काठमाडौं

आगामी शुक्रबार प्रदर्शनमा आउने सिनेमा परान ले ‘मेरो परान’ नामक प्रतियोगिता घोषणा गर्दै १ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ।

प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्ना लागि विशेष व्यक्ति — जसलाई आफ्नो “परान” ठानिन्छ — सँगको तस्बिर पोस्ट गरी क्याप्सनमा “मेरो परान” लेखी आफ्ना भावना व्यक्त गर्नुपर्नेछ। उक्त पोस्टमा सिनेमाको आधिकारिक फेसबुक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्माण पक्षका अनुसार सहभागिताको दायरा खुला छ — बुबा, आमा, श्रीमान्, श्रीमती, प्रेमी–प्रेमिका, साथी वा दिदी–बहिनी, दाजु–भाइजस्ता जो कोहीसँगको तस्बिर पठाउन सकिनेछ।

त्यसरी पोस्ट गर्ने मध्ये एक जनाले लक्की ड्रमार्फत १ लाख रुपियाँ जित्ने अवसर पाउनेछन् भने सय जनाले सिनेमाको विशेष शोको टिकट प्राप्त गर्नेछन्। साथै, सिनेमाको प्रवद्र्धनका लागि केही स्वयंसवकले परान सिनेमाको क्यूआर कोडसहित शहरका विभिन्न भागमा भ्रमण गर्ने कार्यक्रम समेत बनाइएको छ। सो क्रममा क्यूआर स्क्यान गरी सिनेमाको ट्रेलर वा गीत सेयर गर्ने ५० जनालाई कलाकारसँगै सिनेमा हेर्ने अवसर प्रदान गरिनेछ।

दुवै प्रतियोगितामा रिलिजपछि एक सातासम्म — अर्थात् कात्तिक २० गतेसम्म — सहभागी हुन सकिनेछ।

गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाको प्रत्यक्ष सहभागितामा बनेको सिनेमा परान मा उनको साथै प्रिज्मा एडर्भटाइजिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी छ। सिनेमा एक बुबा र छोराको भावनात्मक कथामा आधारित रहेको छ।

दीपकप्रसाद आचार्य (काकु) निर्देशित यस सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारीलगायतले अभिनय गरेका छन्।

Related Articles

Back to top button