CINEMANEWS

पेन्सन पट्टालाई युनिभर्सल सर्टिफिकेट

सिनेमा संसार
काठमाडौं
माओत्से गुरुङ निर्देशित सिनेमा पेन्सन पट्टाले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल यू प्रमाणपत्र पाएको छ। प्रमाणपत्र पाएसँगै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको सिनेमा भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमाको रनटाइम २ घण्टा ८ मिनेट छ।
लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखिएको पेन्सन पट्टाले बाहिरबाट देखिने लाहुरे जीवनको प्रतिष्ठा र सुख–सुविधाभन्दा भित्रका पारिवारिक उतारचढाव तथा भावनात्मक संघर्षलाई प्रस्तुत गरेको छ।
पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्छ। वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्किएको पात्रसँगै हराएको पेन्सनपट्टाको खोजीले पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलतालाई कथामा जोडेको छ।
अभिनेता दयाहाङ राईले पेन्सन पट्टालाई नेपाली समाजसँग नजिकबाट जोडिएको कथा बताएका छन्। ३०–४० वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको विशेष महत्व रहेको बताउँदै उनले भूतपूर्व गोर्खालीको योगदानसँग जोडिएको पेन्सनले परिवारमा पार्ने प्रभाव सिनेमाको महत्वपूर्ण पक्ष भएको बताए। तर कथा पेन्सनमा मात्र सीमित नरहेको र प्रेम, भावना तथा पारिवारिक सम्बन्धका विभिन्न तहलाई समेत समेटिएको उनको भनाइ छ।
निर्देशक गुरुङले करिब १२–१५ वर्षदेखि सिनेमा निर्माणको सोच बोकेको बताएका छन्। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसले सम्बन्धमा ल्याउने उतारचढावलाई कथामा समेटिएको उनले बताए। धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई सिनेमाले प्राथमिकता दिएको उनको भनाइ छ।
पेन्सन पट्टामा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय रहेको छ। सिनेमालाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्।
मीन कोन्मे गुरुङ सिकलेस, भोजबहादुर गुरुङ यूके, माया गुरुङ र सपना गुरुङ निर्माता रहेको सिनेमामा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिको छायांकन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको छ।

सिनेमाको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक, राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन्।

Related Articles

Back to top button