CINEMANEWS

तेस्रो सातामा पनि पेन्सन पट्टाको व्यापार बलियो, ६ करोड नाघ्यो ग्रस

सिनेमा संसार
काठमाडौं
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको सिनेमा पेन्सन पट्टाले तेस्रो सातामा प्रवेश गर्दासमेत दर्शकमाझ आफ्नो पकड कायम राखेको छ। पहिलो सातादेखि नै राम्रो दर्शकीय साथ पाउँदै आएको सिनेमाले हालसम्म ६ करोड रुपैयाँभन्दा बढीको ग्रस कारोबार गरेको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार पेन्सन पट्टाले पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। दोस्रो सातामा पनि व्यापारलाई निरन्तरता दिएपछि सिनेमाको कुल कारोबार ६ करोड रुपैयाँभन्दा माथि पुगेको हो।
तेस्रो सातामा पनि दर्शकको चासो कायम रहेकाले सिनेमाले खल्ती एपमा १०६ शो पाएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा पेन्सन पट्टाले राम्रो शो र अकुपेन्सी कायम गरिरहेको निर्माण पक्षले जनाएको छ। केही हलमा अझै दर्शकको चाप उत्साहजनक रहेको बताइएको छ।
पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तु पेन्सन पट्टाको मुख्य आकर्षण बनेको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सामाजिक सञ्जालमा भइरहेको चर्चाले पनि सिनेमाको व्यापारलाई निरन्तरता दिन सहयोग पुगेको निर्माण पक्षको भनाइ छ।
दर्शकीय साथ उत्साहजनक बनेपछि निर्माण टोली विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिइरहेको छ। नेपालमा राम्रो दर्शकीय साथ पाइरहेको पेन्सन पट्टा विदेशका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। तेस्रो सातामा पनि दर्शकको साथ निरन्तर रहने विश्वास निर्माण पक्षले गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button