
सिनेमा संसार
काठमाडौं
लगातारको वर्षाका कारण सुरुवाती दुई दिन अपेक्षित दर्शक पाउन नसकेको सिनेमा बाः एक योद्धाले मौसममा सुधार आएसँगै हलमा दर्शकको उत्साहजनक साथ पाउन थालेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमाको आइतबार मध्याह्नपछिका अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको निर्माण पक्षले जनाएको छ।
कतिपय शो हाउसफूलसमेत भएका छन्। निर्देशक तथा निर्माता हरि लम्सालले मौसममा सुधार आएसँगै सिनेमाले गति लिन थालेको बताए। वर्षाका कारण दुई दिन असर परे पनि आइतबारदेखि देखिएको दर्शकको उत्साहले आफूहरू पनि उत्साहित भएको उनको भनाइ छ।
दर्शकले सिनेमा भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया दिइरहेका छन्। आफ्नै, आफन्त वा छिमेकीले देखे–भोगेकै कथासँग जोडिएकाले सिनेमा हेर्दा भावुक बनेको र रोएको प्रतिक्रिया आइरहेको निर्देशक लम्सालले बताए।
सन्तानले आफ्नो अधिकार खोज्ने क्रममा दायित्व बिर्सन नहुने सन्देश दिन अभिभावकले आफ्ना सन्तानलाई बाः एक योद्धा देखाउनुपर्ने प्रतिक्रिया दर्शकबाट आएको निर्माण पक्षले जनाएको छ। दर्शकले अभिभावकले आफ्ना सन्तानलाई सिनेमा देखाउने वातावरण बनाउन आग्रह गरिरहेको निर्माता लम्सालले बताए।
सिनेमाको मुख्य कथा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्ने दुःखलाई पनि कथामा समेटिएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको बाः एक योद्धा आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। कथासँगै पटकथा पनि लम्सालले नै लेखेका हुन्। सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
वसन्त लम्साल निर्माता रहेको सिनेमामा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।




