
सिनेमा संसार
काठमाडौं
अभिभावकले छोरीको इच्छाविपरीत विवाह गरिदिँदा परिवार र समाजमा उत्पन्न हुने समस्याको कथा बोकेको सिनेमा अक्षरा आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। विनयराज पौडेलको निर्देशनमा तयार भएको सिनेमाले केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने युनिभर्सल यू प्रमाणपत्रसमेत पाइसकेको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको अक्षरामा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
छोरीको चाहनालाई बेवास्ता गर्दै गरिने जबरजस्ती विवाहले निम्त्याउने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई सिनेमाको कथामा समेटिएको छ।
सोनी थापा ढुङ्गाना प्रस्तुतकर्ता रहेको अक्षराको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन्।
दिपेन बस्न्यातको छायांकन रहेको सिनेमामा गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र कर्णराज गिरीको संगीत रहेको छ। सिनेमाको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नेछन्।




