
सिनेमा संसार
काठमाडौं
आगामी बडादशैँ अर्थात् असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको आबाट आमा २ को बाँकी छायांकनका लागि निर्माण टिम हङकङ पुगेको छ। मुख्य अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङसहित प्राविधिक टोली अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको हो।
हङकङमा सिनेमाका महत्वपूर्ण दृश्यहरू खिचिनेछन्। त्यहाँ हुने सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानमा सिनेमाका मुख्य दृश्य खिचिने निर्माण पक्षले जनाएको छ।
नेपालमा अधिकांश पारिवारिक तथा भावनात्मक दृश्यको छायांकन पूरा भइसकेपछि कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा उतार्न हङकङको सेड्युल तय गरिएको हो। निर्देशक पन्तका अनुसार हङकङमा पल शाह र रिश्ता गुरुङ जोडिएका केही विशेष ड्रामेटिक दृश्य खिचिनेछन्।
चाडपर्वका बेला गाउँमा आमाले गर्ने पर्खाइ र सात समुद्रपारि परदेशमा सन्तानले भोग्ने बाध्यताबीचको भावनात्मक सम्बन्धलाई सिनेमाको मुख्य आधार बनाइएको छ। हङकङको अन्तिम छायांकनले कथाको प्रवासी आयामलाई अझ प्रामाणिक र भव्य बनाउने निर्देशक पन्तले बताएका छन्। हङकङको सेड्युल सकिएपछि टिम नेपाल फर्किएर पोस्ट–प्रोडक्सनको बाँकी कामलाई तीव्रता दिनेछ।
केही दिनअघि सार्वजनिक आबाट आमा २ को आधिकारिक टिजरले ३ दिनमै ४२ लाखभन्दा बढी भ्युज पाएको छ। निर्माण पक्षका अनुसार टिजरले नेपाली सिनेमा इतिहासकै सर्वाधिक हेरिएको टिजर बन्ने रेकर्ड कायम गरेको छ। मंगलबार सार्वजनिक पहिलो रोमान्टिक गीत अचेल किन कान्छीले पनि युट्युब तथा टिकटकमा चर्चा पाइरहेको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमामा पल शाह र रिश्ता गुरुङसँगै विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ। रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको सिनेमाका कार्यकारी निर्माता करण सिंह हुन्।




