
सिनेमा संसार
काठमाडौं
वर्षकै प्रतीक्षितमध्येको एक सिनेमा १२ गाउँ २ ले प्रेमभाव बोकेको गीत लालीगुराँस दर्शकमाझ ल्याएको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीलाई प्रेमिल भावमा नृत्य गरिरहेको देख्न सकिन्छ।
शिव परियार र सारोही कुमारको स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ। प्रकृतिलाई बिम्ब बनाएर एकअर्काप्रतिको समर्पण व्यक्त गरिएको गीतमा प्रेममा परेका युवक र युवतीको चाहना, अनुभव र कल्पनालाई प्रस्तुत गरिएको छ।
मायालुको सम्झनामा उनको नाम नै जीवन जिउनका लागि पर्याप्त हुने भावसमेत गीतमा समेटिएको छ। गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
विराज भट्टको निर्देशनमा तयार भएको १२ गाउँ २ असोज ३० गते फूलपातीका दिनबाट प्रदर्शनमा आउँदैछ। बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको सिनेमामा समीर भट्ट र कृशु शाहीसँगै निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतको अभिनय छ।
कृशु शाही र वर्षा इटनीले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका छन्। सिनेमाको कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलले गरेका छन्। १२ गाउँ २ मा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन तथा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ। स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन्। सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।



