NEWS

सरकारी विज्ञापनसम्बन्धी निर्णयप्रति चलचित्र पत्रकार संघको आपत्ति

सिनेमा संसार
काठमाडौं
चलचित्र पत्रकार संघ नेपालले सरकारको हालैको सरकारी विज्ञापन नीति सम्बन्धी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघका महासचिव रघुनाथ सापकोटाले प्रेस वक्तव्य जारी गर्दै सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको हो।
संघले उक्त निर्णयले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार नागरिकलाई सूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहार गरेको ठहर गरेको छ। खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई सिन्डिकेटतर्फ उन्मुख गराउने यस कदमले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई कमजोर बनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने स्पष्ट संकेत दिएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, स्थानीय सरकारसँग सहकार्य गर्दै सुशासन, आर्थिक पारदर्शिता तथा विकासमुखी खबरदारीमा महत्वपूर्ण भूमिका खेल्दै आएका निजी सञ्चारमाध्यमको प्रवद्र्धनमा समेत यस निर्णयले नकारात्मक असर पार्ने संघको भनाइ छ। संघले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा संघीय संरचनासँग बाझिने यस्ता निर्णयहरू पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ।
प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य तथा नागरिक अधिकारको संरक्षणका लागि उक्त निर्णय तुरुन्त सच्याउनुपर्ने माग संघले गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button