
सिनेमा संसार
काठमाडौं
पर्यटक कलाकारको स्वागत नेपाली लोकसांस्कृतिक आधार भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
चैत ५ गतेबाट सुरु भएको मेला काठमाडौंबाट उद्घाटन भई देशका विभिन्न स्थानमा विस्तार भएको थियो। पाँचखाल, पोखरा, बुढानिलकण्ठ, बसन्तपुर र पाटन दरबार क्षेत्रसहित विद्यालयहरूमा समेत सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा देशभर उत्सवमय माहोल सिर्जना भएको थियो। मेलामा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, ताइपे, दक्षिण अफ्रिका, इजरायल र नेपालका कलाकारले आफ्नो मौलिक लोकसंस्कृति झल्काउने प्रस्तुति दिएका थिए। केही देश अन्तर्राष्ट्रिय परिस्थितिका कारण सहभागी हुन नसके पनि मेलामा बहुराष्ट्रिय सहभागिता उल्लेखनीय देखिएको थियो।
सन् २००२ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको यस मेलाले यसपटक पनि ठूलो दर्शक सहभागिता जुटाएको छ। आयोजकका अनुसार ५ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने टेलिभिजन, युट्युब र फेसबुकमार्फत पनि व्यापक पहुँच पुगेको छ। यस्ता कार्यक्रमले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै आयोजकले सरकारी निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो समेत गरेका छन्।
कार्यक्रम सफल बनाउन काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका र पाँचखाल नगरपालिका लगायत स्थानीय तह तथा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो। 
एभरेस्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले आगामी चौधौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८४ को तयारीमा जुट्ने जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।











