
सिनेमा संसार
काठमाडौं
आगमी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने सिनेमा लालीबजारको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यु अभिनेता विशाल देवकोटालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ।
रंगमञ्चबाट आएका विशाल देवकोटा अडिसनमार्फत छनोट हुँदै सिनेमामा प्रवेश गरेका हुन्। निर्माण कम्पनी षट्कोण आट्र्सका अनुसार उनको अभिनय क्षमताका कारण पहिलो सिनेमामै स्वस्तिमासँग मुख्य जोडी बन्ने अवसर पाएका हुन्। रंगमञ्चमा अभिनय र निर्देशन दुवैमा सक्रिय रहेका विशालले नाटकमार्फत अनुभव बटुलेपछि सिनेमा क्षेत्रमा पाइला राखेका हुन्। पछिल्लो समय उनलाई उदयीमान कलाकारको रुपमा हेरिएको छ। कान्तिपुर थिएटरमा मञ्चन भएको नाटक मीरामा उनको अभिनय देखेपछि सिनेमा टिमले उनलाई अडिसनका लागि बोलाएको थियो। विभिन्न चरण पार गर्दै उनी अन्ततः लालीबजारमा चयन भएका हुन्।
रंगमञ्च र सिनेमा अभिनयबीच फरक अनुभव रहेको उनले बताएका छन्। नाटकमा पात्रलाई एकैपटक जिउन पाइने भएपनि सिनेमामा दृश्यअनुसार अभिनय गर्नुपर्ने उनको अनुभव छ। सिनेमा समाजको यथार्थमा आधारित कथा भएको उनले उल्लेख गरेका छन्। सिनेमाको गीत मायालाई के दिउँ म बैना दर्शकमाझ लोकप्रिय बनेको छ। उक्त गीतले ८० लाखभन्दा बढी भ्यु पाइसकेको छ भने सामाजिक सञ्जालमा यसमा आधारित सामग्री बनाउने क्रम बढ्दो छ।
बर्दियाको राजापुरमा छायांकन गरिएको सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायतका कलाकारले अभिनय गरेका छन्।
विशाल देवकोटा र प्रसंशा सुवेदीले यसै सिनेमामार्फत डेब्यु गर्दैछन्। यम थापाको कथा तथा निर्देशनमा बनेको सिनेमा लालीबजारको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले तयार गरेका हुन्। सिनेमामा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन्। साथै प्राविधिक टिममा जेबी रुवाली, सम्राट बस्नेत, सुशन प्रजापती, मित्रदेव गुरुङलगायत रहेका छन्।




