
सिनेमा संसार
काठमाडौं
चैत्र २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा राम नाम सत्यको पहिलो गीत धागोले बाटेको दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। रिलिज भएको १३ दिनमै गीतले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
निर्वाचनको समयमा देशको ध्यान मतदान र मतपरिणामतर्फ केन्द्रित भइरहेका बेला पनि गीतले आफ्नो लोकप्रियता कायम राखेको निर्माण टिमले जनाएको छ। सार्वजनिक भएको दुई साताभित्रै गीतलाई युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ भने दर्शकले यस गीतमा लाखौं टिकटक भिडियो बनाइसकेका छन्। यसले सिनेमाको व्यापारमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने शब्द डा. डीआर उपाध्यायले लेखेका हुन्। संगीत बाबुल गिरीले दिएका छन्। रोमान्टिक शैलीको गीतमा सिनेमाका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर गरिएको छ। भिडियोमा उनीहरूको रोमान्टिक केमेस्ट्री छ।
गीतले राम्रो प्रतिक्रिया पाएपछि निर्देशक माइकल चन्द उत्साहित देखिएका छन्। उनका अनुसार निर्वाचनको समयमै गीत सार्वजनिक गर्दा धेरैले समय उपयुक्त नभएको टिप्पणी गरेका थिए। तर दर्शकले गीतलाई मन पराएपछि टिम उत्साहित भएको उनले बताए। गीतको टिजर पनि केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको छ।
सिनेमामा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ। माइकल चन्दकै कथा तथा पटकथा रहेको सिनेमामा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको सिनेमामा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, नवराज शर्माको मुख्य निर्देशन तथा साहिल खानले टिजर र ट्रेलर तयार पारेका छन्। स्क्रिप्ट सल्लाहकारमा अभिमन्यु निरवी र समय थपलिया रहेका छन्।
पर्दा पछाडिको कथा भन्ने थिममा निर्माण भएको सिनेमामा विराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापालगायत कलाकारको अभिनय रहेको छ। एक्सन, सस्पेन्स र प्रेम कथामा आधारित सिनेमा चैत्र २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।




