
सिनेमा संसार
काठमाडौं
महाशिवरात्रिको अवसर पारेर डल्लेले इन्ट्रीमार्योको सेकेन्ड लुक पोस्टर आइतबार सार्वजनिक गरिएको छ।
नयाँ वर्षको अवसरमा २७ चैतदेखि प्रदर्शन तयारीमा रहेको सिनेमाको यसअघिको फस्र्टलुकमा मुख्य अभिनेता सागर लम्सालमात्र देखिएका थिए भने नयाँ पोस्टरमा उनीसँगै डेब्यु अभिनेत्री रोशनी खड्का प्रस्तुत छिन्। मोडलिङबाट करिअर सुरु गरेकी रोशनी सन् २०२५ को मिस नेपाल अडिसन क्लिपका कारण चर्चामा आएकी थिइन्। उक्त अडिसनमा निर्णायक रचना गुरुङले औपचारिक परिचयअघि नै उनको हातबारे बोल्न भनेको भिडियो भाइरल बनेपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो। जन्मजात एक हत्केलाविहीन रोशनीलाई निरुत्साहित गरिएको भन्दै धेरैले आलोचना गरेका थिए। यद्यपि उनी अहिले अभिनय र मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आफ्नो डेब्यु सिनेमाबाट उत्साहित देखिएकी छन्।
सिनेमाका निर्देशक राजु गिरी हुन् भने कथा उमेशकुमार बस्नेत र पटकथा–संवाद लक्ष्मण सुवेदीले तयार पारेका छन्। कलाकारमा रमेश बुढाथोकी, रविन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पाहाडी, कैलाश रावल, रवि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसीन भट्टराई, सुष्मा केसी, रामहरी खड्का र सुचेन्द्र परियारलगायत छन्।
कार्यबिनायक फिल्म्स् र उषा फिल्म्स्को प्रस्तुति रहेको सिनेमाका निर्माता सावित्री चिलुवाल, आषिक, आदर्श, निर्मला बस्नेत र सरिता पुरी गिरी रहेका छन्। छायाङ्कन श्याम तामाङले गरेका हुन् भने सङ्गीत अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापा को छ। नृत्य निर्देशन केशबराज भट्टले सम्हालेका छन्।




