
सिनेमा संसार
काठमाडौं
कृत्रिम बौद्धिकता (एआई) अहिले संगीत क्षेत्रमा समेत तीव्र गतिमा प्रवेश गरिरहेको छ। बिलबोर्डका अनुसार, एआई गायिका जेनिया मोनेट ‘बिलबोर्ड रेडियो चार्ट’ मा डेब्यू गर्ने पहिलो एआई कलाकार बनेकी छन्।
सन् २०२५ को गर्मीयाममा पहिलो पटक गीत सार्वजनिक गरेपछि मोनेटका गीतहरू विभिन्न बिलबोर्ड चार्टहरूमा देखा परेका छन्। उनका गीतहरू ‘लेट गो, लेट गड’ हट गोस्पेल सङ्स चार्टमा, र ‘हाउ वाज आइ सपोज्ड टु नो’ हट आर एन्ड बी सङ्स चार्टमा समावेश भएका छन्।
हालै मोनेटले हलिवुड मिडियासँग बहु–मिलियन डलरको रेकर्ड सम्झौतामा हस्ताक्षर गरेकी छन्। बिलबोर्डले यसलाई ‘अ बिडिङ वार’ अर्थात् प्रतिस्पर्धात्मक सम्झौता भएको जनाएको छ।
हलिवुड क्षेत्रमा एआई कलाकारहरूले मानव कलाकारको रोजगारी खोस्ने सम्भावनाप्रति चिन्ता बढ्दै गएको छ। यद्यपि, कलामा एआईको प्रयोग लगातार बढ्दै गइरहेको छ।
इन्स्टाग्राममा १ लाख ४६ हजारभन्दा बढी फलोअर्स भएकी मोनेटले दर्शक तथा श्रोताहरू एआई कलाकारप्रति खुला र चासोयुक्त रहेको प्रमाणित गरेकी छन्।
एप्पल म्युजिकमा उनको प्रोफाइलमा लेखिएको छ— “केसिया कोल, के मिसेल र मुनी लङका विशेषता बोकेको उच्च अभिव्यक्तिपूर्ण, यथार्थवादी आर एन्ड बी गायिकाको रूपमा मोनेटलाई प्रस्तुत गरिएको छ।”
मोनेटलाई मिसिसिपीकी कवि तेलिशा निक्की जोन्सले सिर्जना गरेकी हुन्। उनी गीत लेख्छिन् भने मोनेटले सुनो नामक एआई संगीत कार्यक्रमको सहयोगमा आफ्ना गीत प्रस्तुत गर्छिन्।
उनको बायोमा “जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स संगीत सिर्जना कार्यक्रम” भनेर उल्लेख गरिएको छ। मोनेटले गत अगस्टमा ‘अनफोल्डेड’ नामक एल्बम सार्वजनिक गरेकी थिइन्, जसमा २४ वटा गीत समावेश छन्।
मोनेटका प्रतिनिधिले जारी गरेको वक्तव्यमा उनको आवाजलाई “सहज, भावपूर्ण र मानवजस्तै” भनेर व्याख्या गरिएको छ।
उनका प्रबन्धक रोमेल मर्फीले भनेका छन्, “एआईले कलाकारलाई प्रतिस्थापन गर्न खोजेको होइन। यो सिर्जनात्मकताको नयाँ ढोका खोल्ने माध्यम हो। यसले मानव अनुभवलाई प्रतिस्थापन नगरी नयाँ सम्भावना सिर्जना गर्छ।”
बिलबोर्डका अनुसार पछिल्ला केही महिनामा कम्तीमा ६ जना एआई वा एआई-सहायता प्राप्त कलाकारले विभिन्न बिलबोर्ड चार्टमा डेब्यू गरेका छन्, र यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।




