
सिनेमा संसार
काठमाडौं
सामाजिक कथाको सिनेमा जनै हराएको मान्छे : सम्बन्धका धागाहरूको पोस्टर सार्वजनिक भएको छ। सिनेमाको निर्माण समूहले काठमाडौंसहित देशका आठ सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो।
काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट एकसाथ पोस्टर अनावरण गरिएको हो। ‘सिनेमालाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा एकसाथ बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ’ सिनेमाका निर्माता विमल न्यौपानेले भने।
सिनेमाको दुई पोस्टर एकसाथ सार्वजनिक गरिएको छ। राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा अभिनेता विजय बरालसँगै अभिनेत्रीद्वय केकी अधिकारी र मिरुना मगर छन्। पोस्टरमा छेउछेउमा केकी र मिरुना छन्। बीचमा विजय छन्। केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन्। मिरुना बेहुलीको भेषमा छिन्। विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन्। यसले केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ।
मिरुना मंगोलियन फेसमा छिन् । विजय र केकी आर्य। त्यसैले विजय आफ्नो जातीय परम्परालाई अँगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रष्ट पारेको छ।
अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन्। उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ। त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दिनुपर्छ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ। ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ पोस्टरमा लेखिएका यी शब्दले विजयको निर्णयमा केकीको साथ रहेको संकेत गर्छ।
हिमाल न्यौपानेले निर्देशन गरेको सिनेमा आगामी भदौ ६ गते रिलिज हुनेछ। सिनेमाको असोसियट निर्देशकमा प्रेमगीत ३ मा अभिनेता मनिष राउत छन्।विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतले अभिनय गरेको सिनेमा पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता रहेको सिनेमामा भानुभक्त ढकालको कथा, पटकथा र संवाद, थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।