
सिनेमा संसार
काठमाडौं
गीतकार संघ नेपालको आयोजनामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक तामाङको पहिलो एकल सांगीतिक कार्यक्रम यही शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८१’ नाम दिइएको यो कार्यक्रममा उनका चर्चित र नयाँ गरी १७ गीत विभिन्न प्रसिद्ध गायक–गायिकाहरूले प्रस्तुत गर्नेछन्।
तामाङले लेखेका “नेपाल मेरो घर,आमा,स्वर्ग सुख,मीठा मीठा बोली,अल्झिरह्यो याद,तिमी सागर,माथि माथि लेकमा,स्वर्ग झैं सैलुङ जस्ता गीतहरू उक्त कार्यक्रममा प्रत्यक्ष वाद्यवादनका साथ प्रस्तुत गरिनेछ।
कार्यक्रममा दीप श्रेष्ठ, किरण प्रधान, अन्जु पन्त, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, संगीता राना प्रधान, डेविड शंकर, रुपक चौधरी, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायतका कलाकारले तामाङका गीतहरू गाउनेछन्।
वि.सं. २०५० मा छाल आउँदा सम्झना बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका तामाङका थुप्रै काव्यकृति पनि प्रकाशित छन्। माटोको आवाज , स्वदेश,जीवनसाथी,आमा र नाता,भक्तिसागर र नेपाल आमा उनका चर्चित कृतिहरू हुन्। हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत छन्।