BOLLYWOODHOLLYWOOD

अभिनेत्री मिशेल ट्राचटेनबर्ग आफ्नै अपार्टमेन्टमा मृत फेला

सिनेमा संसार
काठमाडौं

नेटफ्लिक्सको चर्चित शो गसिप गर्ल मा जर्जिना स्पार्क्सको भूमिकामा अभिनय गर्ने अभिनेत्री मिशेल ट्राचटेनबर्गको निधन भएको छ। ३९ वर्षीया मिशेल नेपाली समयअनुसार बुधवार आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी हुन्।

उनको प्रचारक ग्यारी मान्टौशले आधिकारिक विज्ञप्ति जारी गर्दै निधनको पुष्टि गरेका छन्। उनले भने, “मिशेल ट्राचटेनबर्गको निधनको घोषणा गर्दा हामीलाई अत्यन्त दुःख लागेको छ। परिवारले शोकको यस घडीमा गोपनीयता कायम राखिदिन अनुरोध गरेको छ। हाल थप जानकारी उपलब्ध छैन।”

न्युयोर्क शहर प्रहरीले जानकारी दिएअनुसार मिशेलकी आमा छोरीलाई खोज्दै अपार्टमेन्ट पुग्दा उनलाई बेहोस अवस्थामा फेला पारेकी थिइन्। न्यूयोर्क प्रहरी विभागले मृत्युमा कुनै आपराधिक संलग्नता नरहेको जनाए पनि घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।

कलेजोको रोगबाट पीडित मिशेलको गत महिना मात्र कलेजो प्रत्यारोपण गरिएको थियो। प्रारम्भिक रिपोर्टअनुसार, उनको मृत्यु प्रत्यारोपणपछिको जटिलताका कारण हुन सक्ने अनुमान गरिएको छ।

Related Articles

Back to top button