
सिनेमा संसार
काठमाडौं
न्यू मेक्सिकोको सान्ता फेस्थित आफ्नै घरमा हलिउडका प्रसिद्ध अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी अरकावा मृत फेला परेका छन्। ९५ वर्षीय ह्याकम्यान, उनकी पत्नी मात्र नभई उनीहरूको कुकुर पनि मृत भेटिएपछि प्रहरीले घटनाबारे छानबिन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सान्ता फे प्रहरीले घटनास्थलमा उनीहरू मृत फेला परेको पुष्टि गरेको छ। आफ्नो लामो अभिनय करिअरमा ह्याकम्यानले दुई ओस्कार र दुई बाफ्टा अवार्ड जितेका थिए। उनले विलियम फ्रिडकिनको १९७१ को एक्सन फिल्म “द फ्रेन्च कनेक्सन” मा प्रमुख भूमिका निभाएर ओस्कार जितेका थिए भने, १९९२ मा क्लिन्ट इस्टवुडको अनफरगिभन मा सर्वश्रेष्ठ सहायक अभिनेता को रूपमा दोस्रो ओस्कार हात पारेका थिए।
सन् १९७० र १९८० को दशकमा ह्याकम्यान सुपरम्यान फिल्म श्रृंखलामा लेक्स लुथरको भूमिकाका लागि परिचित थिए। त्यस्तै, उनले फ्रान्सिस फोर्ड कोप्पोलाको सस्पेन्स थ्रिलर द कनभर्सेशन र ऐतिहासिक नाटक मिसिसिपी बर्निङ” मा विलेम डाफोको साथ अभिनय गरेर आफ्नो करिअरलाई अझ उचाइमा पुर्याएका थिए।स्वास्थ्य समस्याका कारण डाक्टरहरूले अभिनय करिअर त्याग्न सुझाव दिएपछि ह्याकम्यानले २००४ मा ७४ वर्षको उमेरमा सन्यास लिएका थिए।उनकी पत्नी बेट्सी अरकावा एक शास्त्रीय पियानोवादक थिइन्। यो जोडीले १९९१ मा विवाह गरेर न्यू मेक्सिकोको सान्ता फे बाहिर बसोबास गर्न थालेका थिए।ह्याकम्यानका तीन सन्तान – क्रिस्टोफर, एलिजाबेथ जिन, र लेस्ली एनी छन्। यी सन्तान उनको दिवंगत पूर्व पत्नी फे माल्टिजसँग जन्मिएका हुन्, जसको २०१७ मा निधन भएको थियो।