सिनेमा संसार
काठमाडौं
सिनेमा कार्साङका कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने सिनेमा बनेको बताएका छन्। कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा सिनेमा बनेको कलाकार र निर्देशकको दाबी छ।
कार्साङमा आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू रहेको जनाउँदै दयाहाङले सिनेमामा झाँक्री हुँदाको स्मरण गरे। ‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो। आगोमा नाच्नु पर्ने थियो। सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ। तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो’ काठमाडौंमा सोमबार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, ‘डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ। मलाई के गर्नु–गर्नु भया । ट्राइ चाहिँ गर्छु भन्ने भयो। आगोमा पसेँ सफल भएँ। उहाँहरुसँग ज्ञान रहेछ।’ लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए। झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको अनुभव छ।
निर्देशक यम शेर्पाले सनेमाको कथा आफैँमा राम्रो रहेको र सिनेमाले दर्शकको मन छुने दाबी गरे। उनका अनुसार सिनेमाले भावुक बनाउँछ र हसाउँछ पनि। राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयले सिनेमालाई थप सशक्त बनाएको उनको दाबी छ।
अभिनेता जितु नेपालले सिनेमा विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए। आफू विदेशमा हुँदा धेरैले यो सिनेमाको विषय र भूमिकालाई लिएरसोधेको उनले सुनाए। ‘म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन। सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो। म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु। सहायक चरित्र हुँदा पनि गर्छु’ जितुले भने।
नायिका सिर्जना निङलेखुले कार्साङ आफ्नो पहिलो सिनेमा भएकोले आप्mनो काम कस्तो छ भनेर हेर्न पनि यो सिनेमा हेर्नुपर्ने बताइन्।
पुस २६ गते रिलिज हुने सिनेमा यम शेर्पाको डेब्यु निर्देशन हो। दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको सिनेमा यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को व्यानरमा छायांकार पुरुषोत्तम प्रधानले निर्माण गरेका हुन्।