CINEMANEWS

चौथो सातामा पनि पेन्सन पट्टाको दबदबा, ८ करोड ५० लाख नाघ्यो ग्रस कलेक्सन

सिनेमा संसार
काठमाडौं
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको सिनेमा पेन्सन पट्टा चौथो सातामा प्रवेश गर्दा पनि दर्शकको साथ र शो संख्यामा बलियो देखिएको छ। नयाँ सिनेमा थपिँदै गए पनि पेन्सन पट्टाले आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै चौथो साताको पहिलो दिन शुक्रबार खल्ती एपमा ९२ शो पाएको छ।
निर्माण पक्षका अनुसार सिनेमाले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चौथो सातामा समेत दर्शकको उपस्थिति उल्लेख्य रूपमा नघटेको निर्माण पक्षको दाबी छ। नयाँ रिलिज भएका सिनेमाको तुलनामा करिब तीन गुणा बढी शो पाउनु आफ्नो प्रदर्शन यात्राको महत्वपूर्ण उपलब्धि भएको निर्माण पक्षले जनाएको छ।
चौथो सातामा प्रवेशको अवसरमा पेन्सन पट्टाको सम्पूर्ण टोली शुक्रबार काठमाडौंमा भेला भएको थियो। मण्डला थिएटरमा आयोजित मीट एन्ड ग्रीट तथा पत्रकार भेटघाटमा कलाकार र निर्माण टोलीले सिनेमाको सफलता, दर्शकीय प्रतिक्रिया र निर्माण अनुभव सञ्चारकर्मीसँग साझा गरेका थिए।
रिलिजको चौथो सातामा प्रवेश गरेपछि सम्पूर्ण टोली एकसाथ काठमाडौंमा भेला भएर पत्रकारसँग भेटघाट गरेको यो पहिलो कार्यक्रम भएको निर्माण पक्षले जनाएको छ।
कार्यक्रममा निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङले पेन्सन पट्टाले पाएको सफलताले निर्माणमा गरिएको मेहनतलाई प्रमाणित गरेको बताए। दुःख र मेहनत गरेर बनाएको सिनेमालाई दर्शकले माया र साथ दिएको भन्दै उनले चौथो सातासम्म पनि दर्शकको साथ पाउनु निर्माण टोलीका लागि ठूलो उपलब्धि भएको उल्लेख गरे।
त्यस्तै, अभिनेता दयाहाङ राईले सिनेमा चलाउन कलाकारको स्टारडमभन्दा कथा महत्वपूर्ण हुने धारणा राखे। उनका अनुसार कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै हो। कथा बलियो भएपछि सिनेमा चल्ने र स्टारडमले त्यसलाई केही हदसम्म मात्रै सहयोग गर्ने उनको भनाइ थियो।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको पेन्सन पट्टाले पहिलो सातादेखि नै दर्शकको साथ पाउँदै आएको छ। दोस्रो र तेस्रो सातामा समेत सिनेमाले आफ्नो शो संख्या मजबुत राखेको थियो। चौथो साताको शुक्रबार ९२ शो पाएसँगै यसको प्रदर्शन यात्रा अझै निरन्तर रहने निर्माण पक्षको विश्वास छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button