
सिनेमा संसार
काठमाडौं
असोज ३० गतेबाट प्रदर्शनमा आउने सिनेमा आबाट आमा २ को प्रचारप्रसारलाई निर्माण टिमले तीव्र बनाएको छ। यही क्रममा सिनेमामा समावेश अचेल किन कान्छी गीतको भिडियो सार्वजनिक गरिएको छ।
डान्सिङ शैलीको गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठलगायत कलाकारलाई सामूहिक विवाहको माहोलमा नृत्य गरिरहेको देख्न सकिन्छ। दुलाहाहरूको समेत छमछमी नाच रहेको गीतको भिडियोमा विवाह समारोहको रमाइलो वातावरणलाई प्रस्तुत गरिएको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियो एक दिनअघि मात्र छायांकन गरिएको हो। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ। सामूहिक स्वरमा शंकर सिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्।
गीत सार्वजनिक भएसँगै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। अचेल किन कान्छी पल शाह र मलिका महतको पहिलो सहकार्य रहेको सिनेमा पनि हो।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको आ बाट आमा २ मा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका रहेको छ।
सिनेमाको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको सिनेमामा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको आबाट आमा २ लाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।




