
सिनेमा संसार
काठमाडौं
गीतकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा सिनेमामा गीतको भूमिका तथा गीतकारको हकअधिकार विषयक कार्यशाला सम्पन्न भएको छ।
बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा आयोजित कार्यक्रममा सिनेमामा गीतको सर्जनात्मक, सांस्कृतिक तथा व्यावसायिक महत्वबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा पूर्वमन्त्री तथा कवि–गीतकार एसपी कोइराला, गायिका मिरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार आनन्द अधिकारी र कवि–गीतकार श्रवण मुकारुङले वक्ताका रूपमा आप्mना धारणा राखेका थिए।
स्वागत मन्तव्य राख्दै अध्यक्ष संघका अध्यक्ष वसन्त थापाले नेपाली सिनेमा उद्योगमा गीतलाई केवल प्रचारको माध्यमका रूपमा नहेरी त्यसको सिर्जनात्मक योगदान, गीतकारको श्रम, प्रतिलिपि अधिकार र रोयल्टीको विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यपत्र प्रस्तुत गर्दै गीतकार आनन्द अधिकारीले गीतलाई सिनेमाको प्राणका रूपमा व्याख्या गरे। उनका अनुसार गीतले कथालाई जीवन्त बनाउने, पात्रको भावनालाई उजागर गर्ने र दर्शकसँग गहिरो सम्बन्ध स्थापित गर्ने काम गर्छ। त्यसैगरी, रोयल्टी र प्रतिलिपि अधिकारबारे बोल्दै सुरेश अधिकारीले गीतकार नै गीतको पहिलो स्रष्टा भएको उल्लेख गरे। गीतको पुनःप्रयोग, रिमेक वा सार्वजनिक प्रयोगका लागि गीतकारको अनुमति अनिवार्य हुने भन्दै उनले बौद्धिक सम्पत्तिको संरक्षणका लागि स्पष्ट सहमति र कानुनी सचेतना आवश्यक रहेको बताए।
गायिका मिरा राणाले सिनेमा गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु भएको स्मरण गर्दै गीतबिनाको सिनेमा भावनात्मक रूपमा अपूरो हुने बताइन्। राणाले गीतकारलाई प्रमुख सर्जकका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिइन्। कवि तथा गीतकार श्रवण मुकारुङले सिनेमामा गीतको गहिरो प्रभावबारे चर्चा गर्दै गीतकारलाई कतिपय अवस्थामा सिर्जनाकर्मीभन्दा उपयोगको वस्तुजस्तो व्यवहार गरिने अवस्थाप्रति चिन्ता व्यक्त गरे। एसपी कोइरालाले सिनेमामा गीतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
कार्यक्रमको समापनमा अध्यक्ष दिनेश डिसीले यो कार्यशाला गीतकार र सिनेमा कर्मीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने सेतु भएको बताए। कार्यशालाले सिनेमाभित्र गीतको रचनात्मक, भावनात्मक र सांस्कृतिक महत्व पुनः स्थापित गर्नुका साथै गीतकारको हकअधिकार, रोयल्टी र प्रतिलिपि अधिकारका विषयलाई बहसको केन्द्रमा ल्याएको सहभागीहरूको निष्कर्ष थियो।




