

सिनेमा संसार
काठमाडौं
नमुना कलेज अफ फेशन टेक्नोलोजीद्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो विविधायन सौन्दर्यम् भव्य रूपमा सम्पन्न भएको छ। झम्सिखेलस्थित द प्लाजा नेपालमा सम्पन्न कार्यक्रममा फेसन, प्रकृति र सिर्जनात्मक अभिव्यक्तिको आकर्षक संगम प्रस्तुत गरिएको थियो।
फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ विद्यार्थी डिजाइनरको सहभागितामा आयोजना गरिएको कार्यक्रममा छ अवधारणामा आधारित संग्रह प्रस्तुत गरिएका थिए। ती संग्रहहरूले नेपालको प्राकृतिक विविधता र भू–परिदृश्यलाई समकालीन फेसनमार्फत जीवन्त ढंगले अभिव्यक्त गरेका थिए।
विविधताबाट जन्मिने सौन्दर्य भन्ने मूल अवधारणामा आधारित शोले प्रकृतिका विभिन्न तत्वलाई फेसन कथामा रूपान्तरण गरेको थियो। रनवेमा ६२ डिजाइनर पोशाकसँगै विशेष क्रिएटिभ मास्टरपिस समेत प्रस्तुत गरिएका थिए।


कार्यक्रमको उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले रनवे उपस्थितिमार्फत गरेकी थिइन्। फेसन कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा तयार गरिएको शोमा ३२ मोडलहरूले डिजाइनहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपालका हिमाल, वन, सिमसार, वन्यजन्तु र पुष्पीय विविधताबाट प्रेरित संग्रहहरू प्रस्तुत गरिएका थिए। हिमनदी र जलप्रवाहको सम्बन्ध, वन्यजन्तु संरक्षण, माटोको गहिराइ, हिमाली उडान र पुष्पीय सौन्दर्यजस्ता विषयलाई डिजाइनमार्फत कथात्मक रूपमा प्रस्तुत
गरिएको थियो।
विशेषगरी संकटग्रस्त वन्यजन्तु र वातावरणीय सन्देश बोकेको संग्रहले दर्शकको ध्यान खिचेको थियो भने पुष्पीय विविधतामा आधारित अन्तिम संग्रहले कार्यक्रमलाई कलात्मक समापन दिएको थियो।
कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करण पनि सार्वजनिक गरिएको थियो। साथै विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थितिमा विद्यार्थीहरूको सिर्जनाको मूल्यांकन गरिएको थियो।
यो ग्राजुएसन फेसन शो पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्ट कार्यक्रमको महत्वपूर्ण शैक्षिक अङ्गका रूपमा रहँदै आएको छ। यसले विद्यार्थीहरूलाई आफ्नो सिर्जनात्मक सोच र डिजाइनलाई व्यावसायिक रूपमा प्रस्तुत गर्ने मञ्च प्रदान गरेको छ।








