
सिनेमा संसार
काठमाडौं
‘माया, तिमी यसलाई एक घटना सम्झ। विन्ती यसलाई दुर्घटना नसम्झ। सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो।’
माथि उल्लेखित कविताको हरफ आगामी फागुन २ गते रिलीजमा आउने सिनेमा दुखी आत्मामा समावेश छ। कवि श्रवण मुकारुङले लेखेका १० कविता सिनेमामा समावेश छन्। जसमध्ये, यसको निर्माण पक्षले पहिलो कविता सार्वजनिक गरेको हो। जसलाई ब्रेकअप कविताको रुपमा सार्वजनिक गरिएको छ ।
सार्वजनिक कवितामा दयाहाङ राइको आवाज छ। भिडियोमा दयाहाङ नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन्। आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन्। यसले, सिनेमामा दयाहाङ कतै कविको भूमिकामा त छैनन् भन्ने पनि अड्कल लगाउन सकिन्छ।
क्लक वर्क क्रियशनको व्यानरमा हिमाल कडरियाले निर्माण गरेको सिनेमामा दीपेन्द्र लामाको लेखन र निर्देशन छ। सुदिप बराल कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ। अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आलेलगायतका कलाकारले समेत अभिनय गरेको सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी छ। सिनेमालाई निर्माण पक्षले एडल्ट ड्रामा भनेको छ।