CINEMANEWS

अमेरिकामा नेम्पा पपुलर अवार्ड हुने

सिनेमा संसार संवाददाता
काठमाडौं
गत वर्ष अमेरिकामा अवार्ड गर्ने घोषणा गरेको नेपाल चलचित्र संघले यसपाली भने सो अवार्ड अमेरिकामै गर्ने भएको छ। अवार्डबारे जानकारी गराउन सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष प्रदीपकुमार उदयले गत वर्ष घोषणा गरिए पनि सहकार्य गर्न तयार भएको अमेरिकास्थित नेपाली कम्पनी नयाँ परेकाले अमेरिकी दुतावासले सम्बन्धित कलाकार तथा प्राविधिकलाई भिषा नदिएका कारण अवार्ड कार्यक्रम रद्द भएको तथा यस वर्ष भने अवार्ड कार्यक्रम हुने बताए।
अध्यक्ष उदयले अमेरिकामा रहेका नेपालीहरुको संगठन एसोसियन अफ नेप्लीज इन मिड वेस्ट अमेरिका, नेप्लीज एसोसिएसन इन साउथेष्ट अमेरिका, नेप्लीज एसोसिएसन इन द अमेरिका र संघकासंयुक्त आयोजनामा आगामी २०१८ अगस्त ३१ देखि सेप्टेम्बर २ सम्म नपाली नेशनल कन्भेन्सन २०१८ मा नेम्पा पपुलर फिल्म अवार्ड २०१८ आयोजना गरिने बताए। कन्भेन्सनमा अमेरिकाभरिका करिब ४ हजार नेपालीको साथै विभिन्न देशबाट एनआरएन नेतृत्व वर्गको समेत उपस्थिति रहने तथा कन्भेनसमा नेपाली सिनेमा क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनको लागि नेपाल चलचित्र संघको पहलमा नेम्पा पपुलर फिल्म अवार्ड २०१८ का साथै नेपाली सिनेमाको प्रदर्शन र नेपालबाट सहभागी हुने कलाकार, प्राविधिक, निर्माता, वितरक तथा प्रदर्शकहरु र अमेरिकामा रहेका नेपालीबीच नेपाली सिनेमाका विषयमा अन्तरक्रियासमेत हुने संघका तृतिय अध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक नरेन्द्र महर्जनले बताए। कार्यक्रममा अभिनेता भुवन केसीले विदेशमा हुने यस्तो कार्यक्रमले नेपाली सिनेमाको क्षेत्रमा केही न केही योगदान पुग्ने विश्वास व्यक्त गरे।
सो समारोहमा नेपाली कलाकारहरुबाट गीत, संगीत, हास्य तथा नृत्यको प्रस्तुति हुने बताइएको छ।
सो अवसरमा लोकप्रियताका आधारमा सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेता, सह अभिनेत्री, हास्य कलाकार, संगीतकार, गायक, गायिका, नव निर्देशक, दशक अभिनेता, दशक अभिनेत्री, नेम्पा अचिभमेन्ट अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने अध्यक्ष उदयले बताए। कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने घोषणा गरेका दीपकराज गिरीले यसै अवार्डबाट सो घोषणा तोड्ने भएका छन्। संघले उपलब्ध गराएको अवार्ड समारोहमा नेपालबाट सहभागी हुने कलाकारहरुको सूचिमा दीपकराज गिरीको नाम पनि उल्लेख छ। अवार्ड समारोहमा निर शाह, भुवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अञ्जु पन्त, सुगम पोखरेल, अर्जुन पोखरेल, विलशन विक्रम राई, नीता ढुंगाना, जितु नेपाल, केदार घिमिरे, सरिता लामिछाने, सुमन गिरी र सीतादेवी तिमलसिना सहभागी हुने संघले जनाएको छ।

Related Articles

Back to top button