CINEMANEWS

गोपीको गीत तेरो आफ्नो

सिनेमा संसार संवाददता
काठमाडौं
रिलिज नजिकिँदै जाँदा गोपी सिनेमाले आफ्नो प्रमोसनलाई तीब्रता दिएको छ। यही क्रममा सोमबार सिनेमाको दोस्रो गीत रिलिज गरिएको छ। तेरो आफ्नो बोलको उक्त गीत शिव परियारले गाएका छन् भने विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका छन्।
आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण तथा दीपेन्द्र लामाले निर्देशन गरेको सिनेमा आगामी माघ १८ देखि चल्दैछ। यसअघि घामपानी निर्देशन गरेका दीपेन्द्रको यो दोस्रो सिनेमा हो। सिनेमामा स्वावलम्बनको विषय भएको हुनाले तेरो आफ्नो गीतलाई थिम सङका रुपमा प्रयोग गरिएको निर्देशक लामाले बताए।
निर्देशकबाट सिनेमाको कथा सुनेपछि आफूले सिनेमाको भाव सुहाउँदो गीत लेखेको गीतकार विप्लवले बताए।
विप्लव प्रतीकको गीत शिव परियारका लागि कम्पोज गर्न पाउनु सौभाग्यको विषय बनेको संगीतकार सिंहले बताए। चलिरहेको भन्दा फरक शैलीको गीत कम्पोज गरेको उनले प्रष्टयाए। ‘बजारमा भाइरल नहोला, तर यस्तो गीत रेकर्ड हुनु र सिनेमामा प्रयोग हुनु धेरै नै खुसीको कुरा हो,’ उनले भने ।
ओएसआरको युट्युब च्यानलबाट रिलिज भएको गीतमा गोपीका मुख्य पात्र विपिन कार्कीले गाई फार्ममा परिश्रम गरिरहेका दृश्यले प्राथमिकता पाएको छ। गोपाल रसाइलीको एरेन्जमेन्टले पनि गीतको स्तर उठाउन मद्दत पुगेको छ।
सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको सिनेमामा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँवाला गौतमलगायतले मुख्य भूमिका निर्वाह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button