
सिनेमा संसार
काठमाडौं,
‘बाहुबली’ फेम्ड सिनेमा निर्देशक एसएस राजामौलीले शनिबार हैदराबादको रामोजी सिनेमा सिटीमा आयोजित एक कार्यक्रममा आफ्नो बहुप्रतिक्षित नयाँ सिनेमाको शीर्षक सार्वजनिक गरेका छन्। आगामी सिनेमाको नाम ‘वाराणसी’ हुनेछ। शीर्ष भूमिकामा रहने महेश बाबु, प्रियंका चोपडा जोनस र पृथ्वीराज सुकुमारन पनि कार्यक्रममा उपस्थित थिए।
यो राजामौली र महेश बाबुबीचको पहिलो सहकार्य हो। प्रियंका चोपडा पनि सन् २०२१ को द स्काई इज पिंक पछि भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। कार्यक्रममा महेश बाबुले सम्पूर्ण देशले यो सिनेमामा गर्व गर्ने विश्वास व्यक्त गरे।
सिनेमामा खलनायक कुम्भको भूमिका निर्वाह गर्ने पृथ्वीराज सुकुमारनले यो आफ्नो करियरकै सबैभन्दा भावनात्मक र शारीरिक चुनौतीको भूमिका हुने बताएका छन्।
‘वाराणसी’ सिनेमा जनवरी २०२७ को संक्रान्तिमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ। यसअघि यसलाई एसएसएमबी २९ भनिने गरिएको थियो, तर अब आधिकारिक रूपमा शीर्षक ‘वाराणसी’ राखिएको हो।
सार्वजनिक गरिएको टिजरमा महेश बाबु रगतले लतपतिएको साँढेमा सवार देखिन्छन् र त्यसपछि स्क्रिनमा शीर्षक देखा पर्छ, जसले सबैको ध्यान खिच्छ।
यसै हप्ताको सुरुमा, प्रियंकाको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। पहेंलो साडीमा बन्दुक समातेको उनको अवतार मनोग्राही देखिन्छ, जहाँ उनले मंदाकिनीको भूमिका निर्वाह गर्नेछिन्।
राजामौलीका बुबा तथा लेखक विजयेन्द्र प्रसादका अनुसार सिनेमामा ३० मिनेट लामो एक्सन दृश्य समावेश छ, जसको संगीत ओस्कर विजेता एम. कीरावानीले तयार पारेका हुन्।
सिनेमाको बारेमा बोल्दै राजामौलीले महेश बाबु यसमा भगवान रामको भूमिकामा देखिने खुलासा गरे। उनले वाराणसीमा छायांकन गरिएका कठिन दृश्यहरूको अनुभव पनि सुनाए। “हामीले यो दृश्य ६० दिनसम्म छायांकन गर्यौं र हालसालै सम्पन्न गर्यौं। हरेक दिन एक चुनौती थियो,” राजामौलीले भने।
सिनेमाको बजेटबारे केन्याली पोर्टल द स्टार ले दिएको रिपोर्टअनुसार ‘वाराणसी’ को कुल लागत १३५ मिलियन डलर (झन्डै ११८८ करोड भारु) रहेको छ।




