CINEMAMUSIC

माग्ने राजाको पोस्टर सार्वजनिक, भदौ ६ मा प्रदर्शन

सिनेमा संसार
काठमाडौं

लोकप्रिय हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’ को फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टोलीले आगामी भदौ ६ गते सिनेमा रिलिज हुने घोषणा गरेको छ।

शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष समारोहमा अभिनेता घिमिरे माग्ने राजाको अवतारमा उपस्थित भए। कार्यक्रममै सिनेमाका दुई पोस्टर सार्वजनिक गरियो— एक पोस्टरमा केदार एक्लै देखिएका छन् भने अर्कोमा उनीसँगै अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा) पनि देखिन्छन्।

सिनेमा ‘माग्ने राजा’ गरिब व्यक्तिको धनी बन्ने सपना र त्यसले सृजना गर्ने हास्यपुर्ण परिस्थितिको वरिपरि घुम्छ। निर्देशनमा ऋषि लामिछानेको पुनरागमन यस सिनेमामार्फत भएको हो। लामिछाने आठ वर्षपछि निर्देशनमा फर्किएका हुन्। उनका अनुसार, यो सिनेमाले नयाँ पुस्ताले कसरी आफूलाई “राजा” ठान्छ भन्ने कथालाई मनोरञ्जक रूपमा चित्रण गर्नेछ।

आरम्भ प्रोडक्सनको ब्यानरमा मुनाल घिमिरेद्वारा निर्मित सिनेमामा केदारसँगै वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटक स्टार पवित्रा साकी (मिस पबी) लगायतको अभिनय देख्न पाइनेछ। अभिनेता आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिनेछन्।

सिनेमाको संवाद, कथा र पटकथा सामीप्य तिमल्सिनाले तयार पारेका हुन् भने संगीतमा दीपक शर्मा र बाबुल गिरीले काम गरेका छन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन्।

कार्यक्रममा कलाकार घिमिरेले आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको सार्वजनिक गर्दै भने, ५१ लाख पाइसकेको छु, बाँकी १० लाख लिनुछ।निर्माता मुनाल घिमिरेले पनि केदारलाई सोही रकम पारिश्रमिकस्वरूप दिएको पुष्टि गरे।

 

Related Articles

Check Also
Close
Back to top button