MUSIC

चार सगितकर्मीलाई सम्मान गर्दै चौतारामा मनाईयो प्रेमध्वज प्रधानको ८९ औँ जन्मजयन्ती

सिनेमा संसार

बलिउडबाट गोेल्डेन भ्वाइस अफ नेपालको ट्याग पाएका ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औँ जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलबार भव्यताका साथ मनाइएको छ।

गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा कार्यक्रमकी सभापति, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथिहरू सो नगरपालिकाकी उपप्रमुख सीता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले नगद १ लाख १ रुपिँयासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मान गरे। गायिका राणाकी पतिको प्रतिकूल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाइ विजेन्द्र मिश्रले ग्रहण गरेका थिए।

गीत संगीत र नृत्य प्रस्तुतिका साथ अघि बढाइएको कार्यक्रममा प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपियाँसहित सम्मानित गरिएको छ।त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपिँयासहित सम्मानित गरियो भने प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिं घलेलाई नगद २५ हजार रुपियाँ सहित प्रदान गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भान्जी भुवन मास्केले चौतारावासीको तर्फबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउँदै त्यसप्रति खुशी व्यक्त गरिन्।

‘मामालाई पहिला चौतारावासीले यही हलमा सम्मान गरेका थिए। उहाँ जन्मेकै भूमि र सम्मानित भएकै मञ्चबाट अरुलाई पनि सम्मान गर्नुपर्छ भनेर यहाँ आएर कार्यक्रम गरेकै हौँ शहिद स्मृति भवनमा सम्पन्न कार्यक्रममा भुवनले भनिन् ‘मामाको स्मृतिमा हरेक दुई वर्षको अन्तरमा यो कार्यक्रम आयोजना गर्दै आएका छौँ ।’ गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सांगीतिक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रूपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए।

‘फेरि एकपटक चौताराले प्रेमध्वज पाएको छ भने प्रेमध्वजले चौतारा पाएको छ। प्रेमध्वज भनेको चौताराको गौरव हो र चौताराले प्रेमध्वजको गौरवगाथाको अध्याय बनाउँदै लानुपर्छ। के सिन्धुपाल्चोकले प्रेमध्वजको बारेमा विद्यावारिधि गर्ने एउटा पनि विद्यार्थी पाउँदैन? के अर्कोपटक चौतारा आउँदा कुनै चोक वा स्थलको नाम प्रेमध्वजको नाममा नामकरण भएको हेर्न पाइन्छ?’

अधिकारीले सुझावयुक्त प्रश्न उठाउँदै प्रेमध्वजको नाममा छात्रवृत्ति र पुरस्कार स्थापना गर्नसमेत स्थानीय सरकारलाई सुझाए। नगर प्रमुख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतिका साथै सिन्धुका निधि भएको चर्चा गर्दै उनको नाममा चोक चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याँई नगर्ने र छिट्टै नै विज्ञका साथ सल्लाह गरेर यो कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

गायक चन्द्रसिंह घलेले प्रेमध्वजको स्वर रहेको जय जय सिन्धुभूमि बोलको गीतबाट आरम्भ भएको समारोहमा सोही गीतमा स्थानीय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए। गायक सुरजकुमार थापाले प्रेमध्वजका लोकप्रिय गीतहरू घुम्तीमा नआउ है, गोरेटो त्यो गाउँको, पर लैजाउ फूलहरू गाएर उनीप्रति श्रद्धासुमन व्यक्त गरेका थिए।

त्यस्तै गायक रोशन श्रेष्ठले देउरालीमा बतास चल्यो बोलको गीत प्रस्तुत गरेका थिए। सिन्धुपालचोकका सुरेस कसजुको संयोजनमा सम्पन्न समारोहमा गायक सुजन चापागाईं र फिल्म उनको स्विटरका निर्देशक तथा लेखक नवीन चौहानलगायतलाई मायाको चिनोबाट सम्मान गरिएको थियो।

कार्यक्रमका लागि मंगलबार प्रधान परिवार कलाकार तथा पत्रकारसहितको टोलीका साथ काठमाडौंबाट चौतारा पुगेको थियो। दोलालघाट आसपास पर्ने चमेरो गुफा कटेजमा रोकिएर नास्ता गर्दै गर्दा प्रेमध्वजको भान्जी भुवनले प्रेमध्वजले आफ्नो जन्म स्थानमा जाँदा सधैँ सोही स्थानमा नास्ता खाने गरेको सम्झिइन्। कार्यक्रम समापनपछि चौताराको पुरानो बजारमा रहेको प्रेमध्वजको जन्मथलोको भ्रमण गराइएको थियो। प्रेमध्वजको जन्मघर ०७२ सालको भूकम्पपछि भत्किएर भग्नावशेष मात्र रहेको छ। ‘मामा ६ वर्षको उमेरसम्म चौतारामा बसेर काठमाडा जानुभएको थियो, तर बेलाबेलामा यँहा आइरहनुुहुन्थ्यो।

उहाँलाई आफ्नो जन्मस्थलप्रति निकै लगाव थियो। उहाँ आउँदा सधैँ हामीलाई जम्मा गरेरै ल्याउनुहुन्थ्यो’ भुवनले सम्झिइन्।
१९९४ सालमा आमा प्राणदेवी प्रधान र बुवा रत्नध्वज प्रधानको पुत्रको रूपमा जन्मिएका प्रेमध्वजले २०१० सालमा वाद्य शिरोमणि स्व. गणेशलाल श्रेष्ठबाट १५ महिना शास्त्रीय संगीतको अध्धयन गरेका थिए भने मुम्बइमा सुगम संगीतको अध्ययन गरेका थिए।

तत्कालीन समयमा गाइने शास्त्रीय शैलीबाट सुगम शैलीतर्फ मोडिने संगीत साधक मानिने उनले २०१३ सालमा नेपालमै पहिलोपटक रेकर्ड गरिएको भूपि शेरचनद्वारा रचित यो नेपाली शिर उचाली गीत तारादेवीका साथमा गाएका थिए। प्रसिद्ध भारतीय म्युजिक कम्पनी पोलिडोरमा भ्वाइस टेस्ट पास गरी मुम्बईबाट एलपी डिस्क निकाल्ने उनी एक मात्र नेपाली गायक थिए। प्रायः सबै वाद्यवादन बजाउने खुबी भएका उनको मनपर्ने वाद्ययन्त्र गितार थियो।

त्यो समयमै अमेरिकाबाट मगाएर नेपाल र भारतका स्टेजमा आफैँ गितार बजाएर गाउने उनका घुम्तीमा नआउ है, देउरालीमा बतास चल्यो, गोरेटो त्यो गाउँको, पर लैजाउ फूलहरू, तारामात्र होइन तिमीलाई, यो नानीको शिरैमा, कति मिठो कलकले पानी, गुलाबी घुम्टो उगारी देउ, नमान लाज यस्तरी, हास्ने रहरहरू आँशुमा डुबेजस्ता दर्जनौँ गीत लोकप्रिय छन्। उनले लोक, आधुनिक, भजन, नेपाल भाषा र फिल्मका गरी ७ सय गीत गाएका छन्।

२०७८ वैशाख २३ गते निधन भएका प्रधानको नाममा परिवारले २०७९ वैशाख १९ गते गोल्डेन भ्वाइस प्रेमध्वज स्मृति प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button