NEWS

चलचित्र पत्रकार संघद्वारा श्रमजिवी पत्रकार ऐन पूर्णरुपमा लागू गर्न माग

१३ बुंदे घोषणापत्र जारी

चलचित्र पत्रकार संघद्वारा श्रमजिवी पत्रकार ऐन पूर्णरुपमा लागू गर्न माग
१३ बुंदे घोषणापत्र जारी
सिनेमा संसार
चितवन
चलचित्र पत्रकार संघ नेपालको पाँचौ पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ। शुक्रवार नारायणगढमा शुरू भएको संघको पाँचौ पूर्ण बैठक १३ बुँदे चितवन घोषणा पत्र जारी गर्दै आइतवार सम्पन्न भएको संघका केन्द्रिय महासचिव रघुनाथ सापकोटालै जानकारी गराए।
संघका केन्द्रीय अध्यक्ष समीर बलामीको अध्यक्षता तथा पूर्वअध्यक्ष एवं सल्लाहकारद्वय विदुर गिरी र शान्तिप्रियको आतिथ्यतामा सम्पन्न बैठकसँगै मोफसलमा नेपाली फिल्मको बजार र फिल्म पत्रकारको सम्बन्ध विषयक अन्र्तक्रिया पनि भएको थियो। संघको केन्द्रीय कार्यसमितिका साथै सल्लाहकार, विभिन्न प्रदेश र जिल्ला शाखाका पदाधिकारी सहभागी बैठकले फिल्म पत्रकारको हक र अधिकारको संरक्षणका लागि संघ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ। यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्ने विश्वास बैठकको छ।
फिल्म पत्रकारिता पेशामा जिम्मेवारी र प्रोत्साहन अभिवृद्धि गर्न संघले प्रदान गर्दै आएको विभिन्न फिल्म पत्रकारिता सम्मान र पुरस्कारलाई व्यवस्थित गर्दै समुचित ढंगले प्रदान गर्न पुरस्कार र सम्मान कोषको स्थापना बैठकले गरेको छ। बैठकमा सहभागीहरूबाट रकम संकलन गरी कोष स्थापना गरिएको हो। बैठकले फिल्म पत्रकार कल्याण कोष, फिल्म पत्रकार सुरक्षा कोष तथा पुरस्कार र सम्मान कोष अभिवृद्धि तथा स्थापनाका लागि विभिन्न सांस्कृतिक, सांगीतिक तथा च्यारिटी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी विधागत पत्रकारितामा देखिएका विभिन्न समस्या, चुनौती र सम्भावनालाई मध्यनजर गर्दै पछिल्लो समय फिल्म पत्रकारितामा देखिएका विकृति र विसंगतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यवसायिक पत्रकारिता गर्न बैठकले आग्रह गरेको छ।
पूर्ण बैठकपश्चात् संघका सल्लाहकार डब्बु क्षेत्री, केन्द्रीय उपाध्यक्ष सुरक्षा भट्टराई, चितवन शाखाका अध्यक्ष गोविन्द अर्याल र सचिव रविन सुवेदी तथा पर्सा शाखाका सचिव सूर्यनारायण विकको घोषणापत्र तयारी समितिले तयार पारेको घोषणापत्रमा चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमको व्यवस्थापनका लागि सम्बन्धित पक्षस“ग माग गरेको छ।
त्यसै गरी विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न, अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनमा समेट्न, फिल्म पत्रकारिता मात्रै गर्ने स्वरोजगारमूलक मिडियालाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, रियल टाइम बक्स अफिसलाई पूर्णरूपमा कार्यान्वयन गर्न तथा बक्स अफिस रिपोर्टलाई सूचनाको हकअनुसार सार्वजनिक गर्न बैठकले माग गरेको छ।
बैठकले चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालयसहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग माग गरेको छ।
घोषणापत्रमा स्वायत्त फिल्म उद्योग तथा नेपाली फिल्मको विकास र प्रवद्र्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित फिल्म ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुनेगरी तत्काल ल्याउन, नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम तय गर्न, चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीको प्रवद्र्धनका लागि नेपाली सिनेमामार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमलाई अगाडि सार्न माग गरिएको छ।
पूर्ण बैठकको सिलसिलामा संघले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका साथ मोफसलमा नेपाली फिल्मको बजार र फिल्म पत्रकारको सम्बन्ध विषयक अन्र्तक्रिया आयोजना गरेको छ। शनिवार सम्पन्न अन्र्तक्रियामा बोर्ड अध्यक्ष डिसीले प्रस्तावित फिल्म ऐन ल्याउनका लागि ६ महिनासम्म विदेश नगई सोही कार्यमा सक्रियताका साथ लागि परेको जानकारी दिए।
बैठकमा सहभागी पत्रकारहरूस“ग छलफल गर्दै बोर्ड अध्यक्ष डिसीले आगामी बैशाख १ गतेदेखि नेपाली फिल्मको रियल टाइम बक्स अफिस सार्वजनिक गर्ने जानकारी गराए। ‘अहिले पनि धेरै हलमा बक्स अफिस जडान हुन बाँकी छ। सबै हललाई बक्स अफिसको दायरामा ल्याई बैशाख १ गतेदेखि बक्स अफिस रिपोर्ट सार्वजनिक गर्छौं। फिल्म हलबाट उत्रिएपछि मात्र त्यसको बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने योजना हाम्रो छ’ कार्यक्रममा डिसीले भने।
उनले केही समयभित्रै सम्भव भएसम्मका सिनेमा हल मातृत्व र अपांगमैत्री हुने जानकारी पनि गराए। डिसीका अनुसार अब सिनेमा हलमा सुत्केरी महिलाका लागि स्तनपान कक्षको व्यवस्था गर्न लगाइनेछ भने अपांगता भएकालाई हलमा गएर सिनेमा हेर्नका लागि ह्वील चेयरमा जान सकिने व्यवस्था गराइनेछ।
ह्वीलचेयर मार्ग सबै हलमा सम्भव नभए पनि सम्भव भएसम्मका हलमा यसको व्यवस्था गराइने उनले बताए। त्यसै गरी महिलाका लागि सिनेमा हलमै स्यानेटरी प्याडको ब्यवस्था गरिने पनि जानकारी पनि उनले दिए। यी ब्यवस्थाको सुरुआत चलचित्र विकास बोर्डको हलबाट शुरू भईसकेको दिनेशले जानकारी गराए।
संघको चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा संघ, तथा यसको प्रदेश र शाखाका पदाधिकारीका साथमा स्थानीय पत्रकार र हल व्यवसायीको सहभागिता रहेको थियो।

Related Articles

Check Also
Close
Back to top button