राजनीति र अन्य

झरीका बीच पनि आचार्यलाई पहिलो दिन दर्शकको साथ

सिनेमा संसार
काठमाडौं
असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा आचार्यले प्रतिकूल मौसमका बीच पनि पहिलो दिन दर्शकको उल्लेख्य साथ पाएको छ। देशभर वर्षा भइरहेका बेला समेत सिनेमाले उत्साहजनक अकुपेन्सी कायम गरेको निर्माण पक्षले जनाएको छ।
शुक्रबारदेखि नै आचार्यले देशभरका हलमा उल्लेख्य शो पाएको थियो। शनिबारका लागि बुकिङ प्लेटफर्म खल्तीमा मात्रै ९६ शो उपलब्ध छन्। खल्तीमा समावेश नभएका सिंगल थिएटर तथा अन्य हलमा समेत ५० भन्दा बढी शो रहेको निर्माण पक्षको भनाइ छ। यसअनुसार देशभर करिब १५० भन्दा बढी शोमा आचार्य प्रदर्शन भइरहेको छ।
वर्षाका कारण शुक्रबार जनजीवन प्रभावित भए पनि काठमाडौंसहित देशभरका हलमा सिनेमाले औसत अकुपेन्सी कायम गरेको थियो। राजधानीबाहिरका दुई दर्जनभन्दा बढी हलमा भने आचार्यका शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ।
पहिलो दिनको दर्शक प्रतिक्रियाबाट उत्साहित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले व्यापारभन्दा पनि झरीका बीच दर्शक हलसम्म पुग्नु नै आफूहरूका लागि ठूलो माया भएको बताएका छन्। पानीमा रुझेर पनि काठमाडौंका अधिकांश हलमा दर्शकको बाक्लो उपस्थिति देख्दा आफूलाई खुसी लागेको उनको भनाइ छ। उनले आगामी दिनमा अझै साथ र समर्थनको अपेक्षा राखेका छन्।
मौसममा सुधार आएसँगै देशभरका दर्शकलाई एकपटक आचार्य हेरेर आफ्नो प्रतिक्रिया दिन निखिलले आग्रह गरेका छन्। नेपालीपन र नेपाली परिवेशमा एक्सनलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको भन्दै उनले एक्सनको कोणबाट सिनेमा हेर्न र त्यससँगै कन्टेन्टलाई पनि बुझ्न दर्शकलाई अनुरोध गरेका छन्।
पहिलो दिन दर्शकबाट पाएको साथ र मायाले आफू उत्साहित रहेको बताउँदै निखिलले वर्षाका कारण पहिलो दिनको अवस्थालाई समेत ध्यानमा राखेर आचार्यलाई साथ दिन देशभरका दर्शकसँग आग्रह गरेका छन्।
निखिल उप्रेतीकै होम प्रोडक्सनमा निर्माण भएको आचार्यको निर्देशन पनि निखिलले नै गरेका हुन्। ट्रेलर सार्वजनिक भएदेखि चर्चामा रहेको सिनेमामा निखिलको एक्सन अवतारसँगै नेपाली परिवेशमा प्रस्तुत गरिएको कथालाई केन्द्रमा राखिएको छ।
सिनेमाको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक, राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन्।

Related Articles

Back to top button