
सिनेमा संसार
काठमाडौं
असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा जदौको टिजर सार्वजनिक भएको छ। हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब एक मिनेट लामो टिजरमा नयाँ पुस्ताको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको विवादलाई प्रस्तुत गरिएको छ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको जदौको टिजरमा अभिनेता प्रभातपाल ठकुरीको नीति शाह र राजश्री थापासँगको प्रेम सम्बन्धको संकेत गरिएको छ। अभिभावक पुस्ताको प्रतिनिधित्व मुकुन भुसाल र ऋचा शर्माले गरेका छन्।
अन्तरजातीय प्रेम जोडीको सामाजिक कथाका रूपमा प्रस्तुत गरिएको जदौले नेपाली समाजमा विद्यमान जातीय विभेदबाट उत्पन्न समस्या र त्यसको निराकरणका लागि चालिने कदमलाई कथामा समेटेको निर्देशक अन्जन शर्माले बताएका छन्। लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताको खाडल पुर्न सन्देश दिने प्रयास गरिएको बताए।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमामा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापासँगै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन खबपु, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय रहेको छ।
जदौका गीतमा प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ। गीतमा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर रहेको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको सिनेमालाई बनिष शाहले सम्पादन गरेका हुन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको सिनेमाका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन्।
शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेड रहेको जदौलाई एनजिसिएन ग्रुपले देशव्यापी वितरण गर्दैछ।




