CINEMAEVENTNEWS

आचार्यमा निखिलको नयाँ शैलीको एक्सन

सिनेमा संसार
काठमाडौं
अभिनेता निखिल उप्रेतीले आफ्नो नयाँ सिनेमा आचार्यमार्फत एक्सनमा नयाँ प्रयोगको संकेत गरेका छन्। २०७२ सालमा आफ्नै लेखन, निर्माण तथा निर्देशनमा बनेको भैरवबाट एक्सनमार्फत दर्शकको ध्यान खिचेका निखिलले आचार्यको मंगलबार सार्वजनिक टिजरमा थप परिस्कृत र धमाकेदार एक्सन प्रस्तुत गरेका छन्।
टिजरमा निखिललाई आकर्षक स्टन्ट तथा एक्सन गर्दै गरेको देख्न सकिन्छ। एक्सन र इमोसनलाई प्राथमिकतामा राखिएको टिजरमा उनी फरक–फरक अवतारमा प्रस्तुत भएका छन्। नेपाली सिनेमामा कमै देखिने उच्चस्तरका एक्सन तथा स्टन्ट समावेश गरिएको निर्माण पक्षको दाबी छ।
आचार्य निखिल उप्रेतीको निर्देशनमा बनेको दोस्रो सिनेमा हो। यसअघि भैरवमार्फत एक्सनप्रधान प्रस्तुति दिएका निखिलले यसपटक पनि खतरनाक स्टन्टलाई निरन्तरता दिएका छन्। टिजरमा देखाइएको एक्सनले सिनेमाको प्रस्तुतिलाई फरक बनाउने संकेत गरेको छ।
सिनेमामा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापतिले आचार्यमार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन्। बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै नेपाली कलाकार ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायतको अभिनय रहेको छ।
सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको आचार्यमा शुक्रराज शाहको एक्सन निर्देशन रहेको छ। बन्दे प्रसादले सम्पादन गरेको सिनेमाको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।
निर्माण पक्षका अनुसार आचार्यको आधिकारिक ट्रेलर आगामी असोज १ गते सार्वजनिक हुनेछ। सिनेमा असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Related Articles

Back to top button