
सिनेमा संसार
काठमाडौं
आगामी कार्तिक १३ गते प्रदर्शनमा आउन लागेको सिनेमा परिवारको दशैं गीत रातो टिका सार्वजनिक गरिएको छ। म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दशैंको टीका लगाएपछिको रमाइलो वातावरणलाई नृत्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ।
बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा उनलाई गायिका बबी लिम्बुले स्वरमा साथ दिएकी छन्। स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ, मास्टरिङ तथा एरेन्ज पनि बाबुल गिरीकै रहेको छ।
रातो टिकामा परिवारका कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय देख्न सकिन्छ। गीतमा प्रयोग गरिएका लिङ्गे पिङ, चिटिक्क सजाइएका घर र सफा आँगनले गाउँघरको दशैं माहोललाई झल्काएको छ।
रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमाको यसअघि फस्टलुक र टिजर सार्वजनिक भइसकेको छ। फस्टलुक र टिजरलाई दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित निर्माण पक्ष सार्वजनिक गीतलाई पनि दर्शकले मनपराउनेमा विश्वस्त छ।
शाही फिल्म प्रोडक्सन र विशआई फिल्मससँगको सहकार्यमा निर्माण भएको परिवारलाई मदन थापाले निर्देशन गरेका हुन्। कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार भन्ने नारासहित निर्माण भएको सिनेमामा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतको अभिनय छ।
सिनेमाको लेखन प्रेम थापा र गणेश उपाध्यायले गरेका हुन्। निरज कँडेल डीओपी रहेको परिवारमा विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन छ। रमेश शाही निर्माता रहेको सिनेमामा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माता छन्।




