आयो लालीबजारको मिठो संसार

सिनेमा संसार
काठमाडौं
सिनेमा लालीबजारको दोस्रो गीत मिठो संसार सार्वजनिक गरिएको छ। पहिलो गीतले युट्युबमा करोडभन्दा बढी भ्यूज प्राप्त गर्दै सफलता पाएपछि निर्माण टिमले नयाँ गीत दर्शकमाझ ल्याएको हो।
लिरिकल भर्सनमा सार्वजनिक गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा सङ्गीत जयन जे वाइवाको रहेको छ।
गीतको भिडियोमा सिनेमाका दृश्यहरू समेटिएका छन्। जसमा स्वस्तिमा खड्का, प्रसंशा सुवेदी र बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन्। सिनेमाका लेखक तथा निर्देशक यम थापाका अनुसार गीतले आमा–छोरीबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ। उनले छोरीप्रतिको आमाको माया र हुर्काउने क्रममा भोग्नुपर्ने संघर्षलाई गीतमार्फत देखाइएको बताए।
आगामी २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा बर्दियाको राजापुरमा छायांकन गरिएको हो। सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतको अभिनय रहेको छ। यसै सिनेमामार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका छन्।




