चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सिटौला अछाममा बेहोस
ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै

सिनेमा संसार
काठमाडौं
चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष दिनेश सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानका क्रममा अछाममा शुक्रवार अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको छ।
सिटौला अछाम २ का रास्वपा उम्मेदवार भुपदेव शाहको घरमा चिया पिउने छलफल भएपछि जाडो भयो भन्दै नजिकैको गाडीबाट टोपी झिकेर लगाउने क्रममा अचानक बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई तत्काल अछामस्थित अछाम जिल्ला अस्पताल लगिएको थियो।
स्थानीय अस्पतालमा प्रारम्भिक उपचारका क्रममा चिकित्सकले टाउकोमा रगत जमेको पाइएको भन्दै सुर्खेत अस्पताल रिफर गरेका थिए। त्यसपछि स्थानीय जिल्ला प्रशासनको समन्वयमा सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको हो।
अहिले सिटौलाको टोखास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
उनलाई अस्पताल भर्ना गरिएपछि उनका शुभेच्छुक, परिवार, आफन्त, पत्रकार, कलाकर्मी, रास्वपाका नेता कार्यकर्ता त्यहाँ पुगेका छन्।




