
सिनेमा संसार
काठमाडौं
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे निधन भएको छ। टोखास्थित ग्रान्डी अस्पतालले ब्रेन ह्यामरेजका कारण उनको मृत्यु भएको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँगै अछाममा चुनावी प्रचारमा सहभागी रहेका सिटौला शुक्रबार बिहान अचानक बेहोस भएका थिए। अछाम–२ का प्रतिनिधिसभा उम्मेदवार भूपदेव शाहको घरमा चिया पिउने क्रममा चिसो महसुस भएपछि गाडीबाट टोपी निकालेर लगाउन खोज्दा उनी एकाएक ढलेका थिए।
उनलाई तत्काल अछामस्थित जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि टाउकोमा रगत जमेको पाइएको भन्दै चिकित्सकले सुर्खेत रिफर गरेका थिए। त्यसपछि स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई शुक्रबार नै काठमाडौं ल्याइएको थियो। काठमाडौं आइपुगेपछि टोखास्थित ग्रान्डी अस्पतालको भेन्टिलेटर कक्षमा राखेर उपचार गरिएको थियो।
उपचारका क्रममा चिकित्सकहरूले उनलाई स्ट्रोक भएको र स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको जानकारी परिवारलाई दिएका थिए। अस्पताल भर्ना भएदेखि नै पत्रकार, कलाकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए। रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले पनि जुम्लाको चुनावी प्रचार स्थगित गरी शनिबार सिटौलालाई अस्पतालमै भेटेका थिए।
२०३७ साल कार्तिक ५ गते नुवाकोटमा बुवा गोकर्णराज सिटौला र आमा स्व. खेमकुमारीको तेस्रो सन्तानका रूपमा जन्मिएका दिनेश सिटौला डेढ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय थिए। उनी सिनेमा टाइम्स डट कमका सञ्चालकसमेत थिए।
सिटौलाले चलचित्र पत्रकार संघ नेपालमा २०७० देखि २०७३ सम्म सचिव, २०७३ देखि २०७६ सम्म उपाध्यक्ष र २०७६ देखि २०७९ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। हाल उनी संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार थिए।
मिलनसार र सहयोगी स्वभावका सिटौला अविवाहित थिए। पत्रकारिताको यात्रामा उनले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए।
आइतबार नै प्रहरीको अनुरोधमा उनको शव त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि चलचित्र विकास बोर्डको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शवमा पत्रकार, कलाकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदैछ।
सिटौलाको परिवारमा बुवा, दुई दिदी, एक दाइ र एक भाइ रहेका छन्। उनको निधनप्रति चलचित्र पत्रकार संघ नेपाल, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघलगायत विभिन्न संघ–संस्थाले विज्ञप्ति जारी गर्दै गहिरो शोक व्यक्त गरेका छन्। त्यसै गरी कलाकर्मीहरुले पनि विभिन्न माध्यमबाट उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।




