
सिनेमा संसार
काठमाडौं
लोकप्रिय गायक नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई प्रेम सम्बन्धमा रहेको पुष्टि भएको छ। इन्स्टाग्राममार्फत दुवैले सार्वजनिक रूपमा एकअर्काप्रति आफ्नो प्रेम अभिव्यक्त गरेपछि लामो समयदेखि चल्दै आएको चर्चा आधिकारिक बनेको हो।
नितेशले आफ्नो इन्स्टाग्राम स्टोरीमा समृद्धिलाई अंकमाल गर्दै खिचिएको तस्वीर सेयर गर्दै वीथ माइ क्विन भन्ने क्याप्सन राखेका थिए। उक्त तस्वीरको जवाफस्वरूप समृद्धिले पनि त्यसैलाई सेयर गर्दै प्रेम सम्बन्ध सार्वजनिक रूपमा स्वीकृत गरेकी छन्।
केही दिनअघि नितेशको जन्मदिन समारोहमा समृद्धि सहभागी भएपछि उनीहरूबीचको प्रेमको चर्चा व्यापक बनेको थियो। फ्यान तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबीच ‘यी दुई प्रेममा छन्’ भन्ने हल्ला तीव्र रूपमा फैलिएको थियो। अब भने दुवै कलाकारबाट प्रेमको स्पष्ट स्वीकृति आएपछि हल्ला अन्त्य भएको छ।
नितेशजंग कुँवर युवापुस्तामाझ अत्यन्त लोकप्रिय गायक हुन्। उनका “योगी”, “हामी यस्तै त हो नि”, “बोल्नुपर्ने” जस्ता गीत हिट रहेका छन्। केही वर्षअघि उनले संगीतबाट केही समय टाढा बस्ने संकेत दिएपछि चर्चामा रहेका नितेश पुनः सक्रिय रूपमा टूर र कन्सर्टमार्फत दर्शक–श्रोतासँग नजिकिएका छन्।
उता समृद्धि राई पत्रकारितामा केही समय कार्यरत रहेकी थिइन्। उनी सन् २०१० को मिस नेपाल प्रतियोगितामा ‘टप ५’ सम्म पुगेकी पूर्व–प्रतियोगी हुन्। पछिल्ला वर्षमा उनले भ्लगिङ, ट्राभल कन्टेन्ट र संगीतमार्फत सामाजिक सञ्जालमा लोकप्रियता कमाएकी छन्।
हाल नितेश र समृद्धि दुवै संयुक्त रूपमा अन्तर्राष्ट्रिय टूरमा व्यस्त छन्। अस्ट्रेलियाको सफल टूरपछि उनीहरू अहिले अमेरिका टूरमा छन्, जहाँ स्टेज कार्यक्रमदेखि यात्रा गतिविधिसम्म दुवै एकसाथ देखिन्छन्। दुवैको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो तथा तस्वीरमार्फत टूरमा पनि उनीहरूको सहकार्य र नजिकपन झल्किन्छ।
दुवै कलाकारले प्रेम र पेशागत सहकार्यलाई सन्तुलनमा राख्दै अघि बढिरहेका कारण उनीहरूलाई कतिपय दर्शकले ‘संगीत क्षेत्रमा ध्यान आकर्षण गरिरहेको नयाँ जोडी’का रूपमा समेत व्याख्या गर्न थालेका छन्।




