
सिनेमा संसार
काठमाडौं
भारतिय ठग सुकेश चन्द्रशेखरसँग जोडिएको मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको कानुनी समस्या झन् गहिरिँदै गएको छ। सोमबार भारतको सर्वोच्च अदालतले उनीद्वारा दायर गरिएको मुद्दा खारेज गरेको छ। उक्त मुद्दामा उनले सुकेशसँग सम्बन्धित २०० करोड रुपैयाँको मनी लन्ड्रिङ मुद्दा नै रद्द गर्न माग गरेकी थिइन्, जुन प्रवर्तन निदेशालय (ईडी) ले दर्ता गरेको थियो।
न्यायाधीश दीपांकर दत्ता र न्यायाधीश ए.जी. मसीहको इजलासले याचिका खारेज गर्दै आवश्यक परेमा उचित समयमा अदालत धाउन सक्ने उल्लेख गरेको छ। ज्याकलिनका तर्फबाट अधिवक्ता मुकुल रोहतगीले सुकेश चन्द्रशेखरबाट उपहार स्वीकार गर्दा ज्याकलिनले बढी सतर्क हुनुपर्ने तर्क गरेका थिए। तर न्यायाधीश दत्ताले प्रारम्भिक चरणमै आरोप अस्वीकार गर्न नसकिने भन्दै मुद्दा ट्रायलसम्म अघि बढ्नुपर्ने बताएका छन्।
यसअघि, दिल्ली उच्च अदालतले गत ३ जुलाईमा उनीद्वारा दायर समान प्रकृतिको याचिका खारेज गरेको थियो। उच्च अदालतले उनी दोषी हुन् वा होइनन् भन्ने फैसला ट्रायलको क्रममा हुने बताएको थियो।
सन् २०२१ मा सुकेशसँगका ज्याकलिनका केही रोमान्टिक तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि ईडीले उनलाई पनि सो मुद्दामा जोडेको हो। हाल २०० करोड रुपैयाको मनी लन्ड्रिङ मुद्दामा सुकेश लामो समयदेखि जेलमै छन्। अनुसन्धानमा उनी र ज्याकलिनबीच नजिक सम्बन्ध रहेको तथ्य खुलेपछि ज्याकलिन निरन्तर कानुनी झमेलामा पर्दै गएकी हुन्।
ज्याकलिनका अनुसार, सुकेशले आफूलाई व्यवसायी भएको झुटो परिचय दिँदै नजिकिएका थिए र महँगा उपहार दिएका थिए। प्रहरीलाई उनले आफू ठगिएको थाहा नभएको बताएकी थिइन्। जेलमा रहँदा पनि सुकेशले पत्राचार गर्ने र उपहार पठाउने गरेको दाबी हुँदै आएको छ।
ईडीका अनुसार, सुकेशले ज्याकलिनसँगको मित्रता पछि करिब ७ करोड रुपैयाँभन्दा बढी खर्च गरेका थिए। उनले दिएका उपहारमा बहुमूल्य गहना, चारवटा पर्शियन बिरालो, ५७ लाखको घोडा, बहराइनमा बस्ने उनका आमाबुबालाई १.८९ करोड मूल्यका दुई गाडी, ज्याकलिनका दाइलाई एसयूभी र बहिनीलाई १.२५ करोडको कार रहेका छन्।