
सिनेमा संसार
संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने भनिएको फिल्म जारको मंगलबार ललितपुरको लाभिम मलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भव्य प्रिमिएर सम्पन्न भएको छ। नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि नेपालमा प्रिमियर गरिएको हो।
मगर समुदायको संस्कृति झल्किने नृत्यसहित शुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नया“ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, लितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायतको सहभागीता रहेको थियो।
फिल्म हेर्ने अधिकांशले फिल्मको तारिफ गरेका छन् । सिनेमाले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको फिल्म जार पूर्ण मौलिक चलचित्र बनेको भन्दै त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो फिल्म हेर्नु पर्ने सुझाव दिए । पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। नया“ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि जार हेर्नुपर्छ भन्ने मलाई लागेको छ, उनले आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई फिल्ममा हेर्न पाउ“दा निकै आनन्द आएको समेत बताए। फिल्मी पार्श्व गायिका एवम् संगीतकार झुमा लिम्बुको गीत संगीतको पनि डा. भट्टराईले खुलेर प्रशंसा गर्दै फिल्मलाई राज्यले कर छुट गर्नु पर्ने बताए ।
ललितपुरका सांसद उदय शमशेर जबराले जार आफूलाई एकदम फरक र पूर्ण मौलिक चलचित्र लागेको बताए । अभिनेत्री मनिषा कोइरालाले पनि जार नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन््। हामीले पछिल्लो समय उत्कृष्ट चलचित्र दिएका छौँ र जा त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौ।
अभिनेता विपिन कार्कीले जार नेपाली फिल्मको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन् ।
नेतृ हिसिला यामीले फिल्म अहिलेको समसामयिक सन्दर्भको सशक्त फिल्म भएको बताइन् । अहिले आर्थिक राजनीतिक समस्या नै नेपाली युवा युवतीको घा“टीमा जार बनेर झुन्डिएको उनले बताइन् । अहिले हजारौँ युवतिहरू एयरपोर्टबाट विदेशतिर लखेटिने गरेको भन्दै अहिलेका सरकारमा रहेकाहरूले यो चलचित्र हेरेर केही कुरा सिक्न पनि उनले सल्लाह दिइन्।निर्देशक दिपेन्द्र लामाले जार हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता र नेपाली सिनेमामा नयाँ उचाइ भएको प्रतिक्रिया दिएका छन् ।
प्रिमियरमा उपस्थितले कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही तथा गितान्जली थापाको सशक्त अभिनयको खुलेर प्रशंसा गरे ।
प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए ।अर्का अभिनेता अनुपविक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए। फिल्ममा प्रयोग गरिएको भीएफएक्स र प्रयोग गरिएका गीतसंगीतको खुलेर तारिफ भएको छ ।
वैशाख २६ गते शुक्रबारदेखि प्रदर्शन हुने जार २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो ।साहित्यकार इन्द्य्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन्।फेरि टेल पिक्चर्सले निर्माण गरेको सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । झुमा लिम्बू र गंगा थापाको संगीत रहेको फिल्ममा होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। सिक्किममा छायांकन गरिएको फिल्ममा सरवानन इलावार्सुको छायांकन र अखिलेश राईको सम्पादन छ । फिल्म नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ।